शनिबार, माघ ५, २०८१
22:51 | ०४:३६

परीक्षा अघि ड्रग्स् लिन्छन् बेलायती विद्यार्थी

नेपाली लिङ्क जनवरी २, २०२२

लण्डन । बेलायती विश्वविद्यालय अध्ययनरत विद्यार्थीले परिक्षा अघि राम्रो नतिजा ल्याउन भन्दै ‘प्रेस्क्रिपसन’ बिना औषधि सेवन गरेका पाइएपछि अनुसन्धान थालिएको छ ।

ब्रिटेनका विभिन्न विश्वविद्यालयहरुका उपकुलपतिआवद्ध रहेको संस्था युनिभर्सिटिज युकेले विश्वविद्यालयहरुमा विद्यार्थीले परीक्षाको बेलामा आफ्नो ध्यान र स्मरण शक्ति बढाउन औषधि प्रयोग गर्ने गरेकोबारे अनुसन्धान गर्न आदेश दिएको हो ।

उक्त संस्थामा १४० भन्दा बढी बेलायती विश्वविद्यालय तथा कलेज सदस्य छन् ।

ब्रिटेनका अक्सफोर्ड, एडिनबरा, नटिङहाम र लण्डन स्कुल अफ इकनमिक्स लगायतका प्रतिष्ठित विश्वविद्यालयका छात्रछात्रमा त्यस्तो व्यवहार देखिएको समाचारहरुमा जनाइएको छ।

अनिद्राको समस्या तथा कुनै काममा ध्यान लगाउन नसक्ने बिरामीहरुका लागि चिकित्सकहरुले सिफारिस गर्ने गरेका औषधि विद्यार्थीहरुले जांच अगाडि किन्ने गरेको बताइएको छ।

‘स्टडी ड्रग्स’ भनिने मोडाफिनिल र रिटालिनले स्मरण शक्ति बढाउने र पढाइमा फोकस गराउने विश्वास विद्यार्थीहरुको छ ।

एटेन्सन डिफिसिट हाइपरएक्टीभिटी डिसअर्डर (एडीएचडी) वा डिमेन्सियाका विरामीले खाने उक्त औषधि प्रेस्क्रिपसन बिना खानु गैरकानूनी मानिन्छ ।

ब्रिटेनमा धेरै जसो औषधि चिकित्सकको प्रेसक्रिप्शन विना किन्न पाइन्दैन, तर यस्ता औषधि भने लुकीछिपी बिक्रि गर्ने गरेको बताइन्छ।

इन्टरनेट रिटेलरमार्फत यूके बाहिरबाट २ पाउन्ड भित्रै ति औषधि उपलब्ध हुने विद्यार्थीले ‘द टाइम्स्’ पत्रिकालाई बताएका छन् ।

विद्यार्थीले त्यस्ता ड्रग्स सजिलै किन्न सकिने बताएको अखबारले उल्लेख गरेको छ ।

गत बर्ष ५४ ब्रिटिश विश्वविद्यालयमा पढ्ने विद्यार्थीमाझ गरिएको एक अनलाइन सर्वेक्षणमा १९ प्रतिशत विद्यार्थीले ति औषधि सेवन गरेको बताएको पाइएको छ ।

बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक तथा एसोसिएट डिन डा. पदम सिम्खडा यहाँका विश्वविद्यालय पढ्ने विद्यार्थीमा ‘स्मार्ट ड्रग्स’ प्रयोग सामान्य भएको बताउंछन् ।

‘कोभिडका कारण साथीभाइसँग घुलमिल नगरी घरमै बस्नु पर्दा डिप्रेसनले यसको प्रयोग झन् बढेको पाइएको छ’ सिम्खडाले भने, ‘तर स्मरण शक्ति बढ्छ वा पढाइमा केन्द्रित हुन्छु भनेर सामान्य मानिसले सेवन गर्नु राम्रो होइन । यसका साइड इफेक्टस् धेरै छन् ।’

सिम्खडाले बेलायतका सबै विश्वविद्यालयले मेडिकल कन्डिसन बाहेक त्यस्ता ड्रग्स प्रयोग गर्न प्रतिवन्ध लगाउने नीति बनाएका बताउंछन् ।

लिभरपुल युनिभर्सिटी हस्पिटल्समा कार्यरत एनेस्थेसियोलोजिस्ट डा. शम्भु आचार्य चिकित्सकको सल्लाह  बिना यस्ता औषधि नलिन सुझाउंछन् । ‘मेडिकल इन्डिकेसन बाहेक अरु औषधि खानु हानिकारक छ’, उनले भने, ‘छाती, किड्नी, ब्लड प्रेसर, मानसिक स्वास्थ समस्या हुने र अन्य धेरै रोगका विरामीलाई यसले धेरै नकारात्मक असर गर्ने सम्भावना हुनुका साथै ज्यान नै जोखिम हुन सक्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू