बिसीसी यूकेले धार्मिक पूजापाठसहित मनायो ल्होछार
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले धार्मिक पूजापाठसहित तमू (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ ।
गत ३० डिसेम्बर अर्थात् पौष १५ बिहिबार अल्डरसटस्थित बिसीसी गुम्बामा दीप प्रज्ज्वलन, घ्यासी आयू र छोग पूजा गरी ल्होछार मनाइएको हो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ मा हुने ल्हो अर्थात वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोही अनुरुप यस वर्ष गाई वर्गलाई बिदाई गर्दै बाघ वर्ग लाई स्वागत गर्ने क्रममा उक्त कार्यक्रम गरिएको हो ।
पछिल्लो समय कोभिड–१९ संक्रमण द्रुतगतिले बढ्दै आएको अवस्था ध्यानमा राखी बिसीसी यूकेले घरमै बसेर ल्होछार मनाउन भक्तजनहरुलाई अनुरोध गरेकाले उपस्थिति एकदमै न्यून रह्यो ।
बेलायतको नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तमूधिं यूकेका अध्यक्ष हित काजी गुरुङको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले बिसीसी यूकेले विगत केही वर्षदेखि तमू, सोनाम, ग्याल्बो ल्होसारलगायत कार्यक्रम गर्दै आएको बताउंदै ल्होछारको शुभकामना व्यक्त गरे ।
त्यस्तै, बिसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ र बिसीसी यूकेका ट्रष्टीज बोर्ड अफ मेम्बर मेजर कुल बहादुर थापाले तमू ल्होछारको अवसरमा आयोजित घ्यासी पूजाले सबैमा सुस्वास्थ्य एवं शान्ति ल्यायोस् भन्दै शुभकामना दिए ।
वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै फेसबुक लाइभ समेत गरिएको उक्त कार्यक्रममा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले तमूधिं युकेका अध्यक्ष हित काजी गुरुङ, आमा अध्यक्ष सिता (मञ्जु) गुरुङ, उपाध्यक्षत्रय हरि गुरुङ, जुमकाजी गुरुङ, तुलाराम गुरुङ, कोषाध्यक्ष कमल गुरुङ लगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई खादा लगाई स्वागत गरेका थिए ।
त्यस्तै, बिसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ, आमा अध्यक्ष दिलमाया गुरुङ लगायतलाई पनि खादा लगाई स्वागत गरे ।
सो अवसरमा बिसीसी यूकेका सल्लाहकार एवं ल्होछार कार्यक्रम संयोजक मेजर खुशीमान गुरुङले स्वागत मन्तब्य राख्दै वर्तमान परिस्थितिका कारण सदाझै सामूहिक रुपमा भेलाभई ल्होछार मनाउन नसकिएको बताउँदै तमूधिं यूकेका अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी, बिसीसी लण्डन शाखा अध्यक्षलगायत सबै भक्तजनहरुलाई ल्होछारको शुभकामना दिए ।
बिसीसी यूकेका धर्मगुरुहरु टुकु रिन्पोछे घ्युर्मिद कुन्जाङ्ग र खेन रिन्पोछे कुन्ख्यापले बौद्ध परम्परानुसार संसारभर रहेका मानवजातीको सुख, शान्ति, दीर्घायू र समृद्धिको कामना गर्दै घ्यासी, आयू र छोग पूजा गरेका थिए ।
सो अवसरमा बिसीसी यूके, तमु धिं यूके, बिसीसी लण्डन शाखा लगायत भक्तजनहरुले गुरुहरुको नाममा मण्डला अर्पण गरेका थिए । त्यस्तै, धर्मगुरु टुल्कु कुन्जाङले उपस्थित भक्तजनहरुलाई आयूको वाङ (आर्शिवाद) दिएका थिए ।
सो घ्यासी पूजा पश्चात बिसीसी यूकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, आमा अध्यक्ष उर्मिला गुरुङ तथा आमा समूह उपाध्यक्ष हर्क गुरुङ, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार मेजर डमर घले एमबिई, मिडिया सेक्रेटरी सविन्द्र कुमार (एसके) गुरुङ, तमूधिं यूकेका अध्यक्ष हित काजी गुरुङ तथा कार्यसमितिका पदाधिकारीहरु, सहारा युकेका पूर्व अध्यक्ष मिन (साईंला) गुरुङलगायत उपस्थित तमूहरुले गुम्बा परिसर भित्र नयाँ लुंदा समेत फेरेका थिए ।
उक्त पूजा सफलतापूर्वक सम्पन्न गर्न बिसीसी यूकेका धर्मगुरुहरु टुल्कु कुन्जाङ, खेन्पो कुन्ख्याप, खेन्पो थुक्तेन, सहयोगीहरु आइबहादुर गुरुङ, सानु लामा, रामचन्द्र गुरुङलगायतले पूजाको विशेष तयारी गरेका थिए ।
त्यस्तै, बिसीसी यूकेका अध्यक्षलगायत सिंगो कार्यसमिति, आमा अध्यक्षलगायत आमाहरु, सल्लाहकार, कार्यालय कर्मचारीलगायत भक्तजनहरुले आ–आफ्नो तर्फबाट विशेष भूमिका निभाए ।
बिसीसी यूकेका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङले उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन र महासचिव क्याप्टेन देव घलेले कार्यक्रम संचालन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५