बिहीबार, मंसिर १३, २०८१
10:41 | १६:२६

प्रचण्डको दस्तावेजको सार: ‘व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति’

रासस डिसेम्बर २७, २०२१

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दशत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल …प्रचण्ड’ । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन् ।

निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

जनवर्गीय संगठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पंक्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजनमा छ ।

“शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव छ । सर्वहारावर्गप्रति प्रतिबद्ध छौँ, निरन्तर र व्यवस्थित रूपमा क्रान्ति जारी छ, राष्ट्रिय स्वाधिनताको रक्षा, श्रमिक जनताप्रति उत्तरदायी हुनुपर्छ”, दस्तावेजको सार महराले बताए ।

केही ढिला गरी शुरु भएको बन्दसत्रले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको थियो । अध्यक्ष प्रचण्डले दस्तावेज पेस गरेलगतै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् । उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन् ।

अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू