आइतबार, मंसिर ९, २०८१
08:47 | १४:३२

अस्पताल जाँदा

उमेश रेग्मी डिसेम्बर २२, २०२१


दुई हप्ता भइसक्यो देब्रे कान दुखेको। बल्ल बल्ल समय निकालेर अस्पताल जान ट्याम्पो कुरेर बसेको पनि आधा घण्टा भइसक्यो। ट्याम्पो आउँदैन।

बैशाख महिनाको उखर्माउलो गर्मी, काठमाडौँको धुलो अनि धुँवाबीच ट्याम्पो कुरेर बस्दा दिक्क लाग्नु स्वाभाविक नै हो मलाई। त्यसमाथि घरि घरि श्रीमतीजीको फोनको उत्तर दिनु पर्दा दाहिने कान पनि दुख्ला झैँ भइसकेको थियो। जे जति सोध्नु पर्ने, घरमै हुँदा सोध्नु नि । जब घरबाट निस्क्यो अनि शुरु हुन्छ प्रश्न उत्तरको कार्यक्रम, झर्को नै लाग्ने कहिले कहिँ त। कान दुखेर जचाउन जान लागेको मान्छे, कतै टाउको पनि दुख्यो भनेर जचाउन पर्ला जस्तो भइसकेको थियो।

“जाने हो दाई ?” अगाडि आएर ट्याम्पो रोकियो। महिला रहिछिन् चालक। पछिल्तिर पाँचजना वैशले उन्मत्त भएका तरुनीहरु रहेछन् । हेर्दा सबै मेडिसिन पढिरहेका बिद्यार्थीहरु झैं देखिन्थे। म चढ्न अघि बढें । “दाई, तपाइँ पछाडि बस्नुस् न है ?”, एउटीले मुस्काउँदै अनुरोध गरि। म मुन्टो हल्लाउँदै घुस्रे उनले भनेको सिटमा । 

मेरो अनुमान गलत थिएन। पाँचै जना अस्पतालकै नर्श रहेछन्। भर्खर पास गरेका रहेछन् भन्ने कुरा उनीहरुको संवादबाट प्रस्टिन्थ्यो। सेतो पहिरनमा सजिएका उनीहरु आफ्नै मजेदार गफमा मस्त थिए। उनीहरुको नाम जान्न सकिन मैले तर उनीहरुको गफमा आनन्द लिने अवशरबाट बन्चित भने भइन । 

“ए हेर्न ! त्यो डाक्टर रबिन कस्तो डिस्गस्टिङ्ग भन्या। मलाई हिजो आफ्नो वाइफको बारेमा चाहिने नचाहिने कुरा भन्दै थियो। आफ्नो फ्यामिलीको कुरा त फ्यामिलीमा नै सिमित राख्नु नि।” 

“हैन के भन्यो तेस्ले ?” 

“उ स्याटिसफाइड छैन रे। तर मलाई किन सुनाको यार इफ म उसको गर्ल फ्रेन्ड जस्तो।” 

“बा बा ! के हो तलाई त साइड हान्या जस्तो छ नि डाक्टर रबिनले ।” 

“माइ फुट ! मलाई झोक चल्ने कुरा नगर्न तँ। कहाँ त्यो बुढो संग मेरो कम्प्यर गरिरहेको ।”  

“मेरो पनि कुरा सुनन, खाली आफ्नो मात्र साइड हान्या कुरा गर्छन्। आफूलाई त त्यो मोरो क्यान्टिन चलाउने म्यानेजर भनाउँदोले हुरुक्क पारिसक्यो। हिजो पनि चिया लिन गएको त क्या सेक्सी देखिएको भन्दै आँखा गाड्दै थियो मोरो ।”

“तिमीहरु संधै यसले साइड हान्यो र उसले साइड हान्यो भनेर बसिराख। आफूलाई मन परेको खोजेर खुरुक्क पट्ट्याउनु अनि मोज गर्नु नि मेरो जस्तो। आफ्नो त डाक्टर अशोकसंग बिन्दास रोमान्स चलिरहेको छ ।”

“तेरो बिन्दास रोमान्स चाहि कहिलेसम्म हो नि ? बिहे गर्दैनौ ?”

“अहिले नै मोज छ। बिहे गरेपछि बेकारको टेन्सन मात्रै। उ पनि इण्टरेस्टेड छैन, मलाई पनि बुहारी भएर अनेक झन्झट सहनु छैन।”

“मोज मात्रै गर्दा कुरा बिग्रियो भने नि ?”

“बिग्रिने चान्स नै छैन। संधै प्रोटेक्टेड हुन्छ क्या, बुझ्न तँ पनि यार ।”

म उनीहरुको वार्तालापको भरपुर आनन्द उठाइरहेथे। उनीहरुलाई मेरो उपस्थितिले कुनै फरक पारेको थिएन। उनीहरुको कुरामा रमिरहेको मलाई यतिखेर कान दुखेको पनि हराएको झैँ भइरहेको थियो। तेहि दुखेको देब्रे कान थाप्न थाले म फेरि अरु कुरा सुन्ने रहरमा।

“हाम्रै वार्डमा अस्ति तेरो जस्तै प्रोटेक्टेड भनाउँदो केस आएको थियो अबोर्सन गर्नु पर्यो भन्दै । प्रोटेक्टेड भन्दा भन्दै कुरा बिग्रिन कति बेर लाग्छ र।”

“आफूले त अहिले सम्म प्रोटेक्टेड होस् या अनप्रोटेक्टेड कुनै एक्सपिरियन्स नै गर्न पाएको छैन ।”  

हाँस्छन् सबैजना गलल एकछिन।  

“एक्सपिरियन्स गर्न मन लाग्यो कि क्या हो ?”  

“पहिला आफूले नै गर्नु नि ! कत्तिन मलाई सोध्ने भएकी नक्कली।”  

“आफ्नो थ्योरी त बिहे गर्ने अनि रिअल एक्सपीरियन्स, बिफोर ड्याट हेल्प योर सेल्फ हो के।” 

“यि वैंश चढेकाहरु जहिले पनि खाली यस्तै यस्तै कुरा गरि रहन्छन्। मतलब छैन यिनीहरुलाई दायाँ बायाँ पनि कोहि छ भन्ने”

“नेचुरल हो नि दोस्त, के को मतलब। हैन त दाई”, म तिर मुन्टो घुमाइ उसले। म मुसुक्क मुस्काए मात्र। केहि बोलिन। उनीहरुलाई भन्दा मलाई बढि लाज लागिरहेको थियो शायद।

लाजिम्पाट पुगेर ट्याम्पो रोकियो। भित्र रहेकाहरु जस्तै पोशाक पहिरेकी एउटी अर्की उक्लि “हाय गर्ल्स !” भन्दै।

“आज त सबै जना एउटै ट्याम्पोमा रहेछौ। प्लान गरेर चढेको हो कि क्या हो ?” उमेरमा अलि पाको देखिन्थिन् उनी ।  

“होइन दिदी कोइन्सिडेन्ट मात्र हो। अनि दिदीलाई नभेटेको पनि ४/५ दिन भइसक्यो, के छ हाल खबर ?” 

“ल ! तिमीहरुलाई थाहा छैन, म प्रेगनेण्ट छु नि त्यसैले अहिले हप्तामा दुई दिन मात्रै आउंछु ड्युटीमा। के गर्नु बिना तयारी प्रेगनेण्ट हुँदा सकस भइरहेछ आफूलाई। बुढाले निरोध त लगाउने गरेकै हो तर के गर्नु निरोधले पनि बिरोध गर्न थाले पछि ।”

सबै हाँस्न थाले ।

“मिसावटी पर्यो होला के, अरु औषधि जस्तै”

“हो भन्या ! यो मिसावटी औषधिले गर्दा रोग पनि निको नै हुँदैन। दुई दिनमा घर फर्किनु पर्ने पेसेन्टलाई हप्ता दिन भन्दा बढि बस्नुपर्छ अस्पतालमा। फेरि त्यति मात्र कहाँ हो र, त्यहि मिसावटी औषधि पनि धेरै किनाउनु पर्छ बिचाराहरुसंग। बचेको फार्मेसीमा लगेर बेच्नै पर्यो। मलाई त कहिले कहिँ गलत प्रोफेसनमा आए जस्तो हुन्छ भन्या ।”

“पेसेन्टको फि ले मात्र त कसरी अस्पताल चल्छ त ! डाक्टरहरु त्यस्तो एक्स्पेन्सिव छन्। अस्पतालले पनि त पैसा कमाउने जुक्ति गर्नै पर्यो नि”

म अचम्म मानेर उनीहरुको वार्तालाप सुनिरहेको थिएं । अस्पतालको औषधि व्यापार एउट नितान्त नौलो जानकारी थियो मेरो लागि। दिदी अलि उत्तेजक भएर बोली, “तिमीहरु औषधिको कुरा गर्छौ, अस्पताल भित्र के के हुन्छ भन्ने कुरा मलाई सोधन। तिमीहरु सुन्न पनि सक्दैनौ। अस्पताल नभएर त्यो ठाउँ मानव अंग बेचबिखन गर्ने एउटा व्यापारी केन्द्र हो। खै के भन्नु अरु कुरा।”

अकस्मात मेरो आँखासंग उनको आँखा जुधे, उनी मौन भइन् । शायद धेरै कुरा भन्नु थियो उनलाई तर केहि बोलिनन् । मेरो उपस्थिति सहज भएन त्यसबेला। त्यहि असमन्जसको दौरान ट्याम्पो रोकियो। उत्रिने ठाउँ पनि आइपुगिसकेछ ।

*******

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू