बिहीबार, मंसिर १३, २०८१
09:37 | १५:२२

कांग्रेस पदाधिकारीमा देउवाको बहुमत

रासस डिसेम्बर १७, २०२१

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ। यससंगै सोमबार सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी टीम टुंगिएको छ।

प्राप्त परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार राठौरले दुई हजार ५७६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरे ।

मधेसीतर्फ यादवले दुई हजार ३३० र उनका निकटतम प्रतिस्पर्धी रामकृष्ण यादवले एक हजार ८२० तथा अर्का प्रत्यासी रञ्जित कर्णले ४७२ मत प्राप्त गरे ।

मुस्लिमतर्फ मन्सुरले दुई हजार ७७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शेख वकिलले एक हजार ८७१ मत प्राप्त गरे ।

यसैगरी थारुतर्फ चौधरीले दुई हजार ७६२ र उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार ८७७ मत प्राप्त गरे ।

पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डेले दुई हजार ४११ र उनका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीले दुई हजार १३३ मत तथा अर्का प्रत्याशी चेतराज बजालले ९९ मत प्राप्त गरेका थिए । 

यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी-जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका थिए ।

समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणामअनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन् ।

पदाधिकारीपछि केन्द्रीय सदस्यको मतगणना जारी रहेको पार्टी कार्यालयले जनाएको छ । 

कांग्रेसको नवनिर्वाचित टीममा धेरै नयाँ अनुहार देखिएपनि देउवाले आफ्नो बहुमत सुरक्षित गरेका छन् 

सभापतिसहित १३ पदाधिकारीमध्ये देउवा समूहका ८ जना निर्वाचित भएका छन् भने डा. शेखर कोइराला समूहबाट ४ र प्रकाशमान सिंह समूहबाट १ जना निर्वाचित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू