कांग्रेस महामन्त्रीमा लोकप्रिय युवा नेताद्वय थापा र शर्मा
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा लोकप्रिय युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
जम्मा ६ उम्मेद्वारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्दै थापा र शर्मा निर्वाचित भएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु निर्वाचित भएका हुन् ।
घोषित मतपरिणामअनुसार थापाले सर्वाधिक ३ हजार २३ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो बढी १९ सय ८४ मत पाएर शर्मा पनि विजयी भएका छन् ।
विजयी थापा डा शेखर कोइराला पक्षका हुन् भने शर्मा प्रकाशमान सिंह समूहबाट उम्मेद्वार थिए । देउवा प्यानलमा टिकट नपाएर सिंहतर्फ लागेका उनले सभापतिमा दोस्रो चरणको निर्वाचन हुँदा भने देउवालाई नै समर्थन जनाएका थिए ।
महामन्त्री पदका अन्य उम्मेद्वारमध्ये देउवा समूहका डा प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३ सय ९३, शेखर समूहका डा मिनेन्द्र रिजालले ८ सय ९ र विमलेन्द्र निधी समूहका राजाराम कार्कीले १ सय ६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा हस्तान्तरण र पुस्तान्तरणको मुद्धामा धेरै चर्चा, बहस भएपनि सभापतिमा देउवा नै निरन्तर भएका छन् । तर महामन्त्रीमा थापा र शर्मासंगै उपसभापतिमा धनराज गुरुङजस्ता युवा नेता विजयी भएपछि परिवर्तन चाहनेहरुलाई राहत मिलेको छ ।