शुक्रबार, माघ ४, २०८१
15:04 | २०:४९

बेलायतमा ओमिक्रोनबाट अप्रिलसम्म ७५ हजारको ज्यान जान सक्ने

नेपाली लिङ्क डिसेम्बर ११, २०२१


लन्डन । बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण आउँदो जनवरीमा अर्को वेभ आउने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । समयमा नै सावधानी नअपनाइए गत वर्षको जनवरी भन्दा पनि बढी घातक हुने उनीहरुको विश्वास छ।

सन् २०२२ अप्रिलसम्म २५ देखि ७५ हजारसम्मको ज्यान जान सक्ने वैज्ञानिकहरुले बताएका छन् । तर, समयमा नै सावधानी अपनाउने हो र बुस्टर डोज वितरणमा थप तीव्रता दिने हो भने निकै सहयोग पुग्ने उनीहरुको धारणा छ ।

कोरोनाविरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेको पनि उनीहरुले बताएका छन् । तेस्रो अर्थात बुस्टर डोजले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरुको दाबी छ । जसका कारण अस्पतालमा हुने चाप समेत नियन्त्रण गर्न सकिन्छ ।

अफ्रिकी मुलुकबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले थुप्रै मुलुकमा फैलिएको छ । यस अघिको डेल्टा भाइरस भन्दा बढी संक्रामक ठानिएको यो भाइरसको बारेमा अध्ययन जारी नै रहेपनि डेल्टाको तुलनामा कम खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

बेलायतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्धात्मक नियम लागू गरेको छ । बेलायतमा शुक्रबार एकैदिन ५८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका थिए भने २४ घन्टामा ४४८ जना ओमिक्रोन संक्रमित भेटिएका थिए । तर, यसको वास्तविक संख्या निकै बढी रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू