बिहीबार, मंसिर १३, २०८१
06:37 | १२:२२

नेपालमा थप ३१६ नयाँ संक्रमित      

तीनजनाको मृत्यु

रासस डिसेम्बर १, २०२१

काठमाडौँ–पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आज १२ हजार ७२७ मा कोरोना परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार सक्रिय संक्रमित छ हजार ९५४ पुगेको छ । पछिल्लो समय थप २५९ जना सङ्क्रमणमुक्त भएको पौडेलले जानकारी दिए । योसँगै आठ लाख तीन हजार १६८ जना संक्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्वनवलपरासी, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य संक्रमित भएका जिल्ला मनाङ, हुम्ला, सल्यान जाजरकोट र मुगु रहेका छन् । नेपालमा संक्रमण दर १७.७ प्रतिशत छ । हाल होम आइसोलेशनमा छ हजार ६१०, संस्थागत आइसोलेसनमा ३४४, आइसियुमा १२० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।

तीनको मृत्यु

मन्त्रालयका प्रवक्ता डा पौडेलले पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप तीन जनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ ।

त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५८४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको पौडेलले बताए । हालसम्म पहिलो मात्रा एक करोड ३० लाख ४०८ ले र पूणर् मात्रा ८५ लाख १४ हजार ६८४ जनाले खोप लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू