‘सर्वोच्चमा देखिएको समस्या छिट्टै समाधान’
महोत्तरी–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने “सर्वोच्चको समस्या एक-दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।”
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।
उनले भने, “आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।”
उनले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने बताए । सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताए ।