शुक्रबार, माघ ४, २०८१
22:14 | ०३:५९

बेलायतमा एक करोड २६ लाख बढीले लगाए ‘बुष्टर डोज’

नेपाली लिङ्क नोभेम्बर १४, २०२१

लन्डन । बेलायत सरकारले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसंगै यहाँ हालसम्म १० करोड ९१ लाख ७९ हजार ७८४ डोज खोप वितरण भैसकको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ । कोरोनाविरुद्धको खोपको प्रसंगमा बेलायत विश्वमै अग्र स्थानमा छ, चाहे खोपलाई मान्यता दिने विषयमा होस् वा खोप वितरण शुरु गर्ने प्रसंगमा नै किन नहोस् ।

बेलायतमा अहिले झन्डै २२ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुष्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । आइतबारसम्मको तथ्यांक अनुसार यहाँ एक करोड २६ लाख १३ हजार २५६ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घन्टामा  झन्डै साँढे चार लाख जनाले बुष्टर डोज लगाएका छन् । यसैगरी पाँच करोड ५ लाख ५७ हजार ६५ जना अर्थात ८७.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६० लाख ९ हजार ४६३ जना अर्थात ८० प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

तर, बेलायतमा खोप नलागाउनेको संख्या पनि उत्तिकै छ । इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत काम गर्ने कर्मचारीहरुका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरिने स्वास्थ्यमन्त्री साजिद जाविदले घोषणा गरिसकेका छन् । हालसम्म इंग्ल्याण्डमा एक लाख तीन हजार एनएचएस कर्मचारीले कोरोनाविरुद्धको खोप नलगाएको तथ्यांकले  देखाएको छ । उनीहरुलाई पूर्णरुपमा खोप लगाउन सन् २०२२ अप्रिल १ सम्मका लागि समयसीमा निर्धारण गरिएको छ ।

निर्धारित समयमा दुवै डोज खोप नलगाएमा कर्मचारीहरु कामबाट निष्काशित हुनसक्ने अधिकारीहरुले बताएका छन् । सरकारको यो नयाँ नीतिका कारण ७३ हजार एनएचएस कर्मचारी र ३५ हजार केयर वर्कर्स गरि करिब एक लाख २६ हजार जनाले कामबाट अवकाश लिन सक्ने अनुमान गरिएको छ । सरकारको यो नितिले यहाँको स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्नसक्ने अनुमान गरिएको छ ।

बेलायतमा कोरोनाविरुद्धको खोप निकै प्रभावकारी रहेको अधिकारीहरुले बताउंदै आएका छन् । अघिल्लो वर्ष संक्रमणदर उच्च हुँदा दैनिक एक हजार आठ सयसम्म मृत्यु हुने गरेकोमा हाल कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या कहिलेकाहीं दुई सय नाघ्ने गरेको छ, जुन संख्या खासै बढी होइन ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ६३ जना संक्रमितको ज्यान गएको छ । योसंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४२ हजार ८९८ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा थप ३६ हजार ५१७ जना नयाँ संक्रमित पुष्टि भएको  छ । थपिएका नयाँसंगै यहाँ कुल संक्रमितको संख्या ९५ लाख ६१ हजार नाघेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू