शुक्रबार, माघ ४, २०८१
21:49 | ०३:३४

वेलिङको नेपाली पसलमा बेलायती अर्थमन्त्री, गरे गोर्खा र नेपालीको प्रशंसा

नेपाली लिङ्क नोभेम्बर १३, २०२१

लन्डन । लन्डन बेक्सलीको वेलिङस्थित ‘वेलिङ ग्रीनग्रोसर’ का लागि शनिबार बिहान यादगार बन्यो ।

विगत दुई वर्षदेखि नेपालीको व्यवस्थापनमा सञ्चालन हुँदै आएको स्टोरमा शपिङ गर्न शनिबार एक ‘भिभिआइपी’ आए । उनी थिए बेलायत सरकारका चान्सलर (अर्थमन्त्री) ऋषि सुनाक । 

साना व्यवसायहरुलाई प्रमोट गर्ने बेलायत सरकारको नीतिअनुरुप अर्थमन्त्री सुनाक उक्त स्टोरमा आएका थिए ।  

स्टोरमा झन्डै आधा घण्टा बिताएका उनले किनमेल मात्र गरेनन्, स्टोर सञ्चालक र स्थानीय कम्युनिटी लिडरहरुसँग भलाकुसारी समेत गर्न भ्याए ।  

मन्त्री सुनाकलाई स्टोर सञ्चालकको तर्फबाट बेलायतस्थित साहित्यकार वासु शर्माले खादा र नेपाली ढाकाटोपी लगाएर स्वागत गरे । शर्मा पुत्र विदित न्यौपाने र आरती पुडासैनी दम्पत्तिले सन् २०१९ देखि उक्त स्टोर सञ्चालन गर्दै आएको छ ।  

स्टोरमा मन्त्री सुनाकले आफैले छनोट गरेर केही खाध्यसामग्री खरिद गरे र टिलसम्म पुगेर तोकिएको मूल्य पनि तिरे । उनले स्टोरमा एशियन ( नेपाली/ इन्डियन) खाध्यान्नका थुप्रै भेराइटीहरु उपलब्ध गराएको देख्दा खुशी लागेको बताए ।

वेलिङ ग्रीनग्रोसरजस्ता साना व्यवसायहरुले बेलायती अर्थतन्त्रमा पुर्‍याएको योगदान कदरयोग्य रहेको भन्दै उनले बेलायत सरकार यस्ता व्यवसायहरुलाई आवश्यक सहयोग र प्रवर्द्धन् गर्न कटिबद्ध रहेको जनाए ।  

वेलिङको व्यस्त बेलग्रोभ रोडस्थित हाई स्ट्रिटमा अवस्थित स्टोरले नेपाल तथा भारतीय ओरिजिनका खाद्यान्न साथै ताजा तरकारी तथा फलफूलहरु बिक्री गरिँदै आएको छ ।  

गोर्खा र नेपाली समुदायको प्रशंसा

गलामा खादा र शिरमा ढाकाटोपीमा सजिएका मन्त्री सुनाकले बेलायतमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरे । 

गोर्खाहरुको प्रसंग जोड्दै उनले भने, ‘गोर्खाहरुले यो देशका लागि इनक्रेडिबल योगदान गरिरहेका छन् । उनीहरुको काम उच्च मुल्यांकन लायक छ । म उनीहरुको सांच्चीकै ठूलो प्रशंसक हुँ ।’

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने योर्कशायर क्याटरिकमा गोर्खाहरुको ठूलो ब्यारेक रहेकाले पनि आफूले गोर्खाहरुलाई झन् नजिकबाट देख्ने र बुझ्ने मौका पाएको उनले सुनाए ।

‘संयोगले हिजो बेलुका पनि म योर्कमा नेपाली कम्युनिटीसंगै थिएँ । गोर्खाहरुले देखाएको खुकुरी नाच सांच्चीकै आकर्षक र उत्कृष्ट थियो’-उनले भने ।

अर्थमन्त्रीको स्वागतका लागि स्थानीय नेपाली तथा भारतीय समुदायका केही अग्रजहरु पनि उपस्थित थिए । बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल, तमुधिं साउथ इष्टका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङसहित बेक्सली नेप्लिज कम्युनिटीका तर्फबाट निवर्तमान अध्यक्ष  विजय गुरुङसहित वर्तमान पदाधिकारीहरु हरिश ज्ञवाली, विन्दु गुरुङ, दिपेन सिटौला, अर्चना गुरुङ लगायतले मन्त्री सुनाकलाई खादा ओढाएर स्वागत गरेका थिए ।

मन्त्रीसँगको संक्षिप्त कुराकानीमा नेपाली समुदायका प्रातिनिधिहरुले अर्थमन्त्रीका रुपमा सुनाकले गरेको कामहरुको प्रशंसा गरेका थिए । उनलाई भविष्यमा बेलायतको प्रधानमन्त्रीका रुपमा समेत देख्ने चाहना बेलायतवासी नेपालीहरुले राखेको उनलाई बताइएको थियो ।  

त्यसअवसरमा साहित्यकार शर्माले आफ्नो अंग्रेजी उपन्यास  ‘बिजुवा’ र नेपाली भाषामै प्रकाशित एक कवितासंग्रह पनि  मन्त्री सुनाकलाई हस्तान्तरण गरेका थिए ।  

कोभिड महामारीले तहसनहस पारेको बेलायती अर्थतन्त्रलाई सम्हाल्न होस् वा अफ्टेरोमा परेका सर्वसाधारण र व्यवसायहरुलाई टिकाइराख्न पर्याप्त राहतको बन्दोबस्त गर्न, मन्त्री सुनाकले निर्वाह गरेको भूमिकाले प्रशंसा बटुलेको छ ।

पछिल्लो समय बेलायत सरकारका सर्वाधिक लोकप्रिय  र चर्चित मन्त्रीका रुपमा उदाएका उनलाई भविष्यमा बेलायती प्रधानमन्त्रीकै लागि समेत सम्भावना बोकेका नेता मानिन्छ ।  

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू