शुक्रबार, माघ ४, २०८१
21:54 | ०३:३९

बेलायती महारानीको प्लाटिनम एनिभर्सरीमा स्वीण्डनका नेपालीले रोपे फूल

नेपाली लिङ्क नोभेम्बर ८, २०२१


लन्डन । बेलायती महारानी एलिजावेथ द्धितियाले राजगद्धी सम्हालेको ७० वर्ष पुगेको उपलक्ष्यमा बेलायतको स्वीन्डनवासी नेपालीहरुले फूल रोपेका छन् ।

महारानीको प्लाटिनम जुब्ली एनभिर्सरीको खुशीयालीमा वेस्ट स्वीन्डनको वेस्टली पार्कमा टुलिप फूल रोपिएको हो ।

नेप्लिज एशोसिएसन अफ वील्शायरको आयोजनामा गत शनिबार र आइतबारका दिन करिब ४ हजार फूलको बिउ रोपिएको एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए ।

उक्त अवसरमा सो क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद एवम् पूर्वमन्त्री रोबर्ट बकल्याण्ड समेत सहभागी थिए ।

स्थानीय पेरिस बरो काउन्सिलसमेतको सहकार्यमा गरिएको कार्यक्रममा काउन्सिलर सुरेश गट्टपुरका साथै एशोसिएसनका सल्लाहकारहरु क्याप्टेन आइतराम गुरुङ, रणबहादुर गुरुङसहित एशोसिएसनका सदस्यहरुको पनि सहभागिता थियो ।

इंग्ल्याण्डकै झण्डाजस्तै देखिने गरी सेतो र रातो रंगका फूलहरु रोपिएको छ । यी फूलहरु आगामी फेब्रुअरीमा महारानीले राजगद्धि सम्हालेको ७० औं वर्ष पुग्दासम्म फक्रिने अपेक्षा गरिएको छ ।

एशोसिएसनले ५ हजार फूलका बिउ रोप्ने लक्ष्य राखेको र बाँकी फूल आगामी साता रोपिने अध्यक्ष गुरुङले जानकारी दिए ।

फूल रोप्ने कार्यमा सहभागीहरुलाई अध्यक्ष गुरुङकै तर्फबाट चियाखाजाको प्रबन्ध मिलाइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू