तिहारको पाँचौँ दिन भाइटीका गरिंदै, बेलायतमा शुभ साइत ११:५० मा
लन्डन । तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
बेलायतमा शुभ साइत ११:५० मा
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि नेपालमा बिहान उत्तम साइत ११: ०२ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
बेलायतमा भने स्थानीय नेपाली पन्डित एवम् ज्योतिषीहरुले बिहान ११ बजेर ५० मिनेटलाई भाइटीकाको शुभसाइत भनेका छन् ।
पशुपतिनाथ मन्दिर लन्डनका पन्डित ज्योतिषी निलहरि घिमिरेका अनुसार टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनु उत्तम रहने उनले बताए ।
शुभसाइत बाहेकको समयमा पनि दिनभर नै भाइटीका लगाउन सकिने घिमिरेले जनाए ।
सुर्योदयको आधारमा टीकाको साइत निकालिने भएको कारण नेपालको तुलनामा बेलायतमा फरक समयको साइत निस्किएको पन्डितहरुको भनाइ छ ।