शुक्रबार, माघ ४, २०८१
20:09 | ०१:५४

लन्डन हन्स्लो मेयर गुरुङले गरे ‘मेयर च्यारिटी’, सहयोग साफालाई

नेपाली लिङ्क नोभेम्बर २, २०२१

लन्डन । लन्डन हन्स्लो बरोको ५६ औं मेयर निर्वाचित नेपाली मुलका पूर्व गोर्खा विष्णु बहादुर गुरुङले शुक्रबार साँझ च्यारिटी डिनर आयोजना गरे । लन्डन बरो अफ हन्स्लो भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा सांसद रुथ क्याडबरी, सीमा मलहोत्रालगायत सेनाका उच्च अधिकृतहरु, मेयर, काउन्सिलरलगायत अन्य विशिष्ट व्यक्तिको सहभागिता थियो । भूपू गोर्खाहरुका साथै नेपाली समाजसेवी तथा व्यवसायीहरुको पनि उपस्थिति थियो ।

हालसम्म बेलायतमा मेयर हुने उनी नेपालीमुलको तेस्रो र लन्डनमा पहिलो हुन् ।

कार्यक्रममा कर्पोरल नन्दकुमार गुरुङले पाइपर धुनकासाथ मेसबेयरर मेयर मेयरेस, डिपुटी मेयर र कन्सोर्ट लिडरलाई उपस्थित सबैले स्वागत गरेका थिए । जोन वाल्करले संचालन गरेको कार्यक्रममा काउन्सिल लिडर, काउन्सिलर स्टिभ कुरान, साउथवेष्ट लन्डन शाखाका साफा अध्यक्ष जिलियन ओलभर, काउन्सिलर लिली बाथले आफ्नो मन्तव्य राखे । उनीहरुले मेयर गुरुङलाई मेयरको रुपमा स्वागत गर्न पाउँदा खुशी भएको धारणा व्यक्त गरेका थिए ।

काउन्सिलको नियमअनुसार मेयर भएपछि एक च्यारिटी संस्थालाई सहयोग गर्नुपर्ने प्रावधान अनुसार गुरुङले बेलायतकै ठूलो च्यारिटी संस्था सोल्जर्स, सेलर्स, एअरम्यान एण्ड फेम्लिज एसोसियशन (साफा) लाई सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । साफाले सन् १८८५ देखि सेना तथा तिनका परिवारलाई पूर्णरुपमा सहयोग गर्दै आएको छ ।

आफू साफासंग लामो समयदेखि आवद्ध रहँदै आएको र यो वर्ष आफ्नो मेयरको कार्यकालमा साफालाई रोजेको गुरुङले बताए । मेयर निर्वाचित भएलगत्तै च्यारीटी कार्यक्रम  गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण ढिलो हुन गएको गुरुङले बताए । लन्डन बरो हन्स्लोको खाता साथै जस्ट गिभिङ पेजबाट मेयर च्यारिटीलाई सहयोग गर्न गुरुङले आग्रह गरेका छन् ।

सांसद सीमा मल्होत्राले मेयर गुरुङले गरेको योगदानको कदर गर्दै सफलताको लागि धन्यबाद दिइन् । कार्यक्रमको थप आकर्षणका रुपमा ‘राफल ड्र’ र अक्सन पनि समावेश थियो । कार्यक्रममा मिफ्रुंग वेम्ब्ली मगर युथ डान्सरहरुले मौलिक नेपाली सांगीतिक सौगात पस्किएर सबैलाई मनोरन्जन गराएका थिए । बाँकी फोटो हेर्नुहोस्

को हुन् मेयर विष्णु गुरुङ ?

गोर्खा जिल्लाको बारपाक, सुलिकोट गाउँपालिका सौरपानी ४, फुन्चोकमा जन्मिएका गुरुङ सानैबाट आफ्ना पिताको शैक्षिक एवम् सामाजिक क्षेत्रबाट प्रभावित भएर राजनीति क्षेत्रमा प्रवेश गरेको बताउँछन् । झन्डै दुई दशक बेलायती सेनामा सेवा गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकाश भएका हुन् ।

सेवारत हुँदा उनले हङकङ, ब्रुनाई, सिंगापुर तथा बेलायत लगायतका ठाउँ भ्रमण गरेका थिए । अवकाशपछि सन् २००५ देखि गुरुङ परिवारसहित लन्डनमा बस्दै आएका छन् ।  परिवारबाट पाएको साथ र सहयोगले नै आफूलाई अघि बढ्न सहयोग पुगेको उनी बताउँछन् ।

सन् २०११ बाट लेबर पार्टीको सदस्यता लिएका गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आए । सन् २०१४ मा हन्स्लोकै हानवर्थबाट पहिलोपटक काउन्सिलर निर्वाचित भए उनी । सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुन: काउन्सिलर निर्वाचित भएका थिए ।

गुरुङ गत मे २०२१ मा भएको निर्वाचनमा लन्डनस्थित हन्स्लो बरोको ५६ औं मेयरका रुपमा निर्वाचित भएका हुन् । उनले एक वर्षसम्म मेयरको कार्यभार सम्हाल्नेछन् ।

गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष रहेका गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूके सल्लाहकार समेत हुन् । यसका साथै अन्य विभिन्न संघसंस्था लगायत आर्मड् फोर्सेस च्यारिटी (साफा) मा पनि आबद्ध रहँदै उनले सामाजिक कार्यमा योगदान दिंदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू