शुक्रबार, माघ ४, २०८१
19:05 | ००:५०

लन्डनमा प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त

नेपाली लिङ्क अक्टोबर ३०, २०२१


लन्डन । स्कटल्यान्डमा आयोजना हुने कोप २६ मा भाग लिन बेलायत आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको भेटघाट व्यस्तता शुरु भएको छ ।  

शुक्रबार बेलुका लन्डन उत्रिएका प्रधानमन्त्रीले दूतावास पुगेलगत्तै जनसम्पर्क समितिका सभापति युवराज गुरुङलाई भेटेका थिए । सभापति गुरुङसहितका केही पदाधिकारी राती नै दूतावास पुगेर प्रधानमन्त्रीको स्वागत गरेका थिए ।  

दूतावास स्रोतका अनुसार प्रधानमन्त्री देउवा शनिबार र आइतबार दुवै दिन लन्डनमा विभिन्न भेटघाटमा व्यस्त रहनेछन् । शनिबार उनले एनआरएनए यूकेका प्रतिनिधिलाई भेटेका छन् । त्यसअवसरमा उनलाई एनआरएनए यूकेले एक ज्ञापनपत्र पनि बुझाएको छ ।  

शनिबार प्रधानमन्त्रीले बेलायतको दुवै सदनका सांसद, पूर्व रक्षा राज्यमन्त्री मार्क लांकास्टर, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल पदाधिकारी लगायतलाई भेट्दैछन् । त्यस्तै, प्रधानमन्त्री देउवासँग नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिका प्रतिनिधिहरुले पनि भेट गर्ने कार्यक्रम छ ।  

शनिबार साँझ भने प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसदको नेपाल मामिला हेर्ने सर्वदलीय संसदीय समितिका तर्फबाट रिसेप्सन आयोजना हुँदैछ । जहाँ बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधिलगायतका उच्च अधिकारीको सहभागिता रहनेछ ।

आइतबार प्रधानमन्त्री देउवाले वर्ल्ड इनर्जी काउन्सिलका अधिकारीहरु र भूतपूर्व गोर्खाका प्रतिनिधिलाई भेट्ने छुट्टाछुट्टै तालिका छ । ती भेटघाटहरुपछि दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक रिसेप्सन आयोजना गर्नेछ । त्यस अवसरमा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि सहभागी छन् ।  

आइतबार बेलुका प्रधानमन्त्री देउवा कोप २६ मा भाग लिन स्कटल्यान्डतर्फ लाग्नेछन् ।

स्कटल्यान्डमा रहंदा प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ ।  

नोभेम्बर ३ का दिन प्रधानमन्त्री स्वदेश फर्किनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू