शुक्रबार, माघ ४, २०८१
19:02 | ००:४७

यस्तो छ बेलायतमा प्रधानमन्त्री देउवाको कार्यक्रम तालिका

नेपाली लिङ्क अक्टोबर २९, २०२१

हिथ्रो विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्दै बेलायती सांसद वीरेन्द्र शर्मा र समाजसेवी व्यवसायी रविजंग लामिछानेलगायत ।

लन्डन । पाँच दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलुका बेलायत आइपुगेका छन् । 

स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन  ‘कोप २६’  मा भाग लिन बेलायत आएका प्रधानमन्त्री देउवाको यो बसाइमा बेलायती प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री, बेलायती अधिकारी, बेलायतस्थित नेपाली समुदाय लगायतसँग पनि विभिन्न भेटघाटका कार्यक्रम तय छन् ।  

शनिबार दिनभर र आइतबार अपरान्हसम्म प्रधानमन्त्री देउवा विभिन्न भेटघाटमा व्यस्त रहनेछन् ।  

शनिबार बिहानदेखि नै लन्डन दूतावासमा प्रधानमन्त्री देउवाका भेटघाटहरु शुरु हुनेछन् । त्यसक्रममा उनले बेलायती लर्ड, पूर्वमन्त्री, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल पदाधिकारी लगायतका बेलायतीहरुसँग भेट्ने कार्यक्रम छ । ती भेटघाटहरुपछि प्रधानमन्त्री देउवासँग एनआरएनए यूके र नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिका प्रतिनिधिहरुले पनि छुट्टै भेट गर्नेछन् ।  

शनिबार साँझ भने प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसदको नेपाल मामिला हेर्ने अन्तरपार्टी संसदीय समितिका तर्फबाट ‘रिसेप्सन’ आयोजना हुँदैछ । लन्डनको ‘द नाभेल एन्ड मिलिटरी क्लब’ मा आयोजना हुने रिसेप्सनमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधिलगायतका उच्च अधिकारीको सहभागिता रहनेछ ।

आइतबार बिहान पनि प्रधानमन्त्री देउवाका भेटघाट निरन्तर हुनेछन् । वर्ल्ड इनर्जी काउन्सिलका अधिकारीहरुका साथै सोही दिन भूतपूर्व गोर्खाका प्रतिनिधि समेतलाई भेट्ने प्रधानमन्त्रीको कार्यक्रम छ । ती भेटघाटपछि दूतावासले प्रधानमन्त्रीको सम्मानमा दूतावासमा एक रिसेप्सन आयोजना गर्नेछ । जसमा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि आमन्त्रित छन् ।  

आइतबार बेलुका प्रधानमन्त्री देउवा कोप २६ मा भाग लिन स्कटल्यान्डतर्फ लाग्नेछन् । सोमबार र मंगलबार उनी विश्व नेताहरुको सम्मेलनमा भाग लिनेछन् । मंगलबारका दिन उनले सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् ।

स्कटल्यान्डमा रहंदा प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने पनि कार्यक्रम छ ।  

नोभेम्बर ३ का दिन प्रधानमन्त्री स्कटल्यान्डबाटै स्वदेश फर्किनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू