बिहीबार, माघ ३, २०८१
13:02 | १८:४७

एनआरएनए विवाद समाधान गर्न संरक्षक परिषद तयार

नेपाली लिङ्क अक्टोबर ११, २०२१


लण्डन । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले एनआरएनएको पछिल्लो विवाद समाधान गर्न संरक्षक परिषद तयार रहेको बताएका छन्।

आइतबार एनआरएनए यूकेको अल्डरसटस्थित नयां कार्यालयको एक समारोहबीच उद्घाटनपछि बोल्दै उनले त्यस्तो बताएका हुन् ।

अक्टोबर २३–२५ मा हुने गरि तोकिएको संघको दशौँ महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवादका कारण स्थगित गरिएको छ । आउंदो १७ अक्टोबरमा बस्ने आइसीसी बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने अपेक्षा गरिएको छ।

‘यदि हामीलाई जिम्मेवारी आयो भने आउंदो १ या २ महिनामा हामीले यो समस्या समाधान गरि महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि शुरु गर्न सक्छौं’, उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै घलेले गैर आवासीय नेपाली संघलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघको मोडेलमा लग्नु पर्ने सुझाव दिए । उनले भने, ‘अमेरिका, युके, अस्ट्रेलिया र जापान संघका चार ओटा पिलरहरु हुन्।  यो एउटा संस्था मात्रै होइन, एउटा सञ्जाल हो। यसमा आइसीसीले एनसीसीहरुसंग समझदारीपत्रमा हस्ताक्षर गर्नु पर्छ र त्यस्तो समझदारी पत्र फरक फरक पनि हुन सक्छ।’

उनले आफ्नो कार्यकालमा तयार पारिएको भिजन २०२० एण्ड बियोन्ड भन्ने दस्तावेज अझै कार्यान्वयनमा नल्याइएको भन्दै दुख पनि व्यक्त गरे ।

उनले वर्तमान नेतृत्वले एनआरएनएका  पञ्जीकृत सदस्यहरुलाई बेवास्ता गरेको बताए । घलेले एनआरएनएलाई लाइफ टाइम मेम्बरसीपको मोडालिटीमा अघि बढाउनुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमती रोशन खनालले एनआरएनएले नागरिकता निरन्तरताको अभियान लागू गर्न नेपाल सरकारसँग घनिभुत छलफल गरि बुझाउन आग्रह गरिन् । उनले बेलायतस्थित नेपाली दूतावास एनआरएनए यूकेसँग मिलेर काम गरिरहेको जनाइन् ।

सो समारोहमा भाग लिन अमेरिकाबाट आएका एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा केशब पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा चुनाव अनिश्चित बन्न पुगेको बताए ।

त्यस्तै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले संघलाई संकुचित घेरा भित्र राख्न खोजिएको आरोप लगाए ।

कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेद्वारहरुले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रमका सभापति तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले नयाँ कार्यालय उद्घाटनपछि कार्यालयको काम व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे । ‘एनआरएन डे’ को अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथि घलेले केक पनि काटेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू