बिहीबार, माघ ३, २०८१
13:19 | १९:०४

बेलायती अतिथिहरुको सहभागितामा जिगेसाको दशैं-तिहार कार्यक्रम

नेपाली लिङ्क अक्टोबर ११, २०२१

लन्डन । ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएशन (जिगेसा) ले दशैँ-तिहारको अवसरमा एक शुभकामना कार्यक्रम आयोजना गरेको छ ।  

बेलायती समुदायका समेत थुप्रै अतिथिहरुको उपस्थितिमा आइतबार वुल्लिच आर्टिलरी ब्यारेकको हलमा कार्यक्रम सम्पन्न भएको थियो ।  

जिगेसा अध्यक्ष हरिकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचकी मेयर डेनिस हाइल्यान्ड, विशेष अतिथि प्रिन्स मौसिन अली खान र अध्यक्ष मल्लले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रीनवीच मेयर हाइल्यान्डले दशैँ, तिहारसहितका नेपाली पर्वहरुको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिइन् । ग्रीनवीच बरोमा बस्ने पूर्व गोर्खाहरुको प्रतिनिधि संस्थाको रुपमा जिगेसाले प्रशंसनीय काम गरिरहेको उनले बताइन् ।

अध्यक्ष हरिकुमार मल्लले उपस्थित सबैलाई शुभकामना दिंदै कार्यक्रममा सहभागिताको लागि धन्यवाद पनि दिए ।  

कार्यक्रममा विशेष अतिथिका रुपमा वुल्लिच ब्यारेकका लेफ्टिनेन्ट कर्णेल इटी टेलर, क्याप्टेन जेम्स र रेजिमेन्ट सार्जन मेजर एन्डी वर्ड, रेमन्ड केन (ओबिई), पानस गोर्खा रेष्टुरेन्टका सुजन कटुवाल, डेल फोरवुड लगायतको पनि उपस्थिति थियो ।

त्यसअवसरमा उपस्थित अतिथिहरुलाई जिगेसाको तर्फबाट अध्यक्ष मल्लले मायाको चिनो वितरण गरेका थिए ।  

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु पनि देखाइएको थियो ।  

जिगेसा महासचिव गमबहादुर गुरुङ र भाविक लोप्चनले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष हिराप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरुको स्वागत कोषाध्यक्ष क्याप्टेन हरिबहादुर गुरुङ र निवर्तमान अध्यक्ष ओमप्रसाद गुरुङले गरेका थिए ।

कार्यक्रममा जिगेसाका सदस्य, अतिथि र स्थानीय नेपालीहरु गरी चार सय बढीको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू