लन्डनमा सोलिसिटर तिगेलाको ‘गोर्खा सोलिसिटर्स फर्म’ उद्घाटन
लण्डन । लन्डनमा सोलिसिटर उत्तरमान तिगेलाले सञ्चालनमा ल्याएको ‘गोर्खा सोलिसिटर्स’ फर्मको औपचारिक उद्घाटन गरिएको छ ।
लन्डनको हन्स्लोस्थित फर्मको गत आइतबार एक समारोहबीच स्थानीय हन्स्लो बरोका मेयर विष्णु गुरुङले उद्घाटन गरे ।
पूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको बेलायतमा गोर्खाकै सन्तानबाट सञ्चालनमा आएको यो पहिलो सोलिसिटर फर्म हो ।
फर्म उद्घाटनपछि शुभकामना दिंदै मेयर गुरुङले गोर्खा सोलिसिटर्स फर्मले नेपाली तथा गैर नेपालीलाई गुणस्तरीय कानूनी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरे ।
गोर्खाहरुको मुद्घामा लामो अनुभव संगालेका चर्चित ब्यारिष्टर राफेल जेसुरुम, ब्यारिष्टर देबेन्द्र श्रेष्ठ, सोलिसिटरहरु दिपक भट्टराई, विपिन रेग्मी र अमर गुरुङले पनि शुभकामना मन्तव्य राखेका थिए ।
त्यस अवसरमा गोर्खा सोलिसिटर्स लिमिटेडका डाइरेक्टर तथा प्रिन्सिपल सोलिसिटर उत्तरमान तिगेलाले उपस्थित कानून व्यवसायी एवम् समुदायका प्रतिनिधिहरुलाई स्वागत गरेका थिए । उनले गोर्खा सोलिसिटर्स फर्मले प्रदान गर्ने सेवाबारे संक्षिप्त जानकारी गराउंदै आफ्नो फर्ममा आबद्ध टिम मेम्बरहरुको परिचय गराएका थिए ।
गोर्खा सोलिसिटर्सको औपचारिक उद्घाटन अहिले भएपनि फर्मले गत मे महिनादेखि नै आफ्नो कार्यालय स्थापना गरी कानूनी सेवा दिंदै आएको थियो ।
लण्डनको हिथ्रो एयरपोर्टनजिक हन्स्लो शहरमा खोलिएको सोलिसिटर्स फर्मले गोर्खा तथा नेपालीहरुका साथै स्थानीय समुदायलाई पनि सेवा उपलब्ध गराउने जनाइएको छ । फर्मका प्रिन्सिपल सोलिसिटर तिगेला विगत दुई दशकदेखि विभिन्न फर्महरुमार्फत् कानूनी सेवामै सक्रिय रहंदै आएका छन् ।
गोर्खा सोलिसिटर्सले आफ्नो वेवसाइटबाट समेत सम्पर्क गरेर सेवा लिन सकिने जनाएको छ । सोलिसिटर्स फर्मलाई टेलिफोन नम्बर ०२०३९३००८८१ वा इमेल [email protected] मा पनि सम्पर्क राख्न सकिनेछ ।