केन्यामा खडेरीले २४ लाख व्यक्ति भोकमरीको खतरामा
नैरोबी, १५ असोज– उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले शुक्रबार चेतावनी दिएको छ ।
गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको डब्ल्यूएफपीले बताएको छ ।
पूर्वी अफ्रिकी मुलुकमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले यहाँको अर्थब्यवस्थालाई धरासायी बनाएको छ । डिसेम्बर २०१९ मा सलहको आक्रमण र सन् २०२० र २०२१ मा कम वर्षा भएको कारण सुक्खा उत्तरी र पूर्वी क्षेत्रमा खाद्यान्नको आपतकालीन अवस्थाको सामना गर्नुपरेको छ ।
राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गत महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गर्नुभएको थियो । यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएफपीको भयावह प्रक्षेपण गत वर्ष अक्टोबर र डिसेम्बरबीच रेकर्ड गरिएको तथ्यांकभन्दा झन्डै तीन गुणा बढी छ । उक्त समयमा साढेआठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।
“यो खडेरी कोभिड–१९ को ठीक पछाडि आएको छ जसले जीवनयापनमा ठूलो आर्थिक प्रभाव पारेको छ । डब्ल्यूएफपी प्रतिनिधि लरेन ल्यान्डिसले एएफपीलाई बताए ।
उनले भने, “अक्टोबर महिनामा आउने पछिल्लो छोटो (वर्षा) ऋतु पनि खाद्यान्न समस्या सम्बोधन हुनेगरी बर्षा गराउन असफल हुने देखिएको र यसको कारण केन्यामा खाद्यान्न अभावको अत्यन्तै खतरनाक परिस्थिति आउने कुरामा हामी साह्रै चिन्तित छौं ।”
“केन्यामा हामीले भोगेको अन्तिम ठूलो खडेरीकाकारण आएको सन् २०१७ को खाद्यान्न संकटको स्तरमा पुग्नेछौं । मेरो विचारमा हामीले आगामी महिनामा खाद्यान्न अभाव भएका थप २५ लाख मानिसहरूलाई हेर्नुपर्ने दायित्व हाम्रो आउने देखिएको छ ।”