बिहीबार, मंसिर १३, २०८१
21:41 | ०३:२६

वृद्ध भत्ताबाट जन्मथलोमा इ-लाइब्रेरी स्थापना

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२१

ओखलढुंगा । ओखलढुंगाकी ८२ वर्षीया समाजसेवी तथा होमबहादुर प्रेम कुमारी ट्रष्टकी संस्थापक प्रेम कुमारी श्रेष्ठले वृद्ध भत्ताबापत आएको रकम जम्मा गरेर आफ्नो जन्मथलो सोलुखुम्बुको जनजागृति उच्च माध्यमिक विद्यालयमा इ-लाइब्रेरी स्थापना गरेकी छन् । 

सोलुखुम्बुको दोर्पु बजारमा जन्मिएकी उनले स्थापना गरेको लाइब्रेरी गत बुधबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण भएको छ । श्रेष्ठका छोरा केन्द्र श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम राईलाई हस्तान्तरण गरेका हुन् ।   

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम राईले सोलुमै जन्मिएकी दाताको तर्फबाट स्थापित इ-लाइब्रेरीले यहाँका विद्यार्थीको पठन-पाठनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । त्यसैगरी, विद्यालयका  प्रधानाध्यापक मानबहादुर कार्कीले विद्यालयमा रहेका २४ वटा कम्प्युटरमार्फत विद्यार्थीहरुले अध्यावधिक गरिएको डिजिटल लाइब्रेरीको उपयोगबाट आफ्नो ज्ञान वृद्धिमा मद्धत पुग्ने आशा व्यक्त गरे ।  

वृद्ध भत्तामा आएको रकम जम्मा गरेर आफ्नो जन्मथलोमा लाइब्रेरी स्थापना गर्ने श्रेष्ठको कार्य प्रशंसनीय रहेको वक्ताहरुले बताए ।  

विद्यालयमा इ-लाइब्रेरी स्थापना गर्न समाजसेवी रविन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले सहजकर्ताको भूमिका निभाएका थिए। 

दाता होम बहादुर श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठ दम्पतिका छोरा-बुहारीहरु र छोरी-ज्वाईहरुले बुवाआमाको नाममा विभिन्न सामाजिक कार्य गर्दै आएका छन्। यसै शिलशिलामा गत वर्ष कोरोना महामारीका कारण भएको लकडाउनमा कामको अभावमा खाना नपाएर भोकभोकै परेका परिवारहरुलाई खाध्य सामग्री वितरण गरेका थिए भने स्थानीय क्याम्पस र विद्यालयमा गरीब विद्यार्थीहरुलाइ पढ्न मद्धत पुर्‍याउने  उद्धेश्यले अक्षय कोषको स्थापना समेत गरेका छन्।     

दाता होमबहादुर श्रेष्ठ र प्रेमकुमारी श्रेष्ठको परिवारले आफ्नै लगानीमा यसअघि ओखलढुंगाको सदरमुकामस्थित सगरमाथा जनता उच्च माविमा पनि ४ वर्षअघि नै इ-लाइब्रेरी स्थापना गरिसकेका थिए, जुन प्रदेश १ कै दोश्रो इ-लाइब्रेरी हो। 

नेपाल लाइब्रेरी फाउन्डेसनका युरोप कोअर्डीनेटरको रुपमा दाता श्रेष्ठ दम्पतिका छोरा शिवजी श्रेष्ठले विभिन्न जिल्लामा ७ वटा इ-लाइब्रेरी स्थापनाको लागि संयोजनकारी भूमिका निभाएका थिए ।

लाइब्रेरी हस्तान्तरण कार्यक्रममा सोलु एफएम संचालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठ लगायत स्थानीय समाजसेवीहरुको पनि उपस्थिति थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू