बिहीबार, माघ ३, २०८१
10:45 | १६:३०

दक्षिण एसियामा नेपालमात्र ‘रेड लिष्ट’ मा, अन्यौलमा डब्लुटीएम सहभागिता

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२१

लन्डन । नोभेम्बर पहिलो साता लन्डनमा हुने पर्यटन क्षेत्रको कुम्भमेला वर्ल्ड ट्राभल मार्ट (डब्लुटीएम) मा नेपाल यसपटक सहभागिताबाट वञ्चित हुने देखिएको छ ।

बेलायत सरकारले बाहिर देशबाट आउने यात्रुबाट कोभिड १९ भेरियन्ट फैलन नपाओस् भनेर लागू गरेको यात्रा प्रतिवन्ध (रेड लिष्ट) का कारण नेपालबाट यसपटक पर्यटन बोर्ड लगायत अन्य ट्राभल कम्पनीहरु सहभागी हुन नपाउने सम्भावना बढेको हो ।

अहिले रेड लिष्टमा रहेका देशबाट ब्रिटिश राहदानीवाहक, बेलायतको आवासीय भिजा भएका र विद्यार्थी बेलायत आउन पाएपनि उनीहरु अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्छ । तर, घुम्ने प्रयोजन (भिजिट भिजा) मा बेलायत आउन
प्रतिवन्ध नै छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बेलायतको रेड लिष्टका कारण कोभिडपछि पर्यटन पुनरुत्थानका लागि एउटा महत्वपूर्ण अवसर गुम्ने अवस्था आएको बताए ।

‘कोभिडले गर्दा डेढ वर्षदेखि हाम्रो पर्यटन प्रवर्धन हुन पाएको छैन् । हामीले यही फोरमबाट धेरै लाभ लिन सक्थ्यौं तर रेड लिष्टले अन्यौल भएको छ’, रेग्मीले भने ।

यसपटक बोर्डसहित १५ निजी कम्पनीका २० जना ‘डब्लुटीएम’ मा आउने योजना छ ।

रेग्मीले नेपालमा पर्यटकीय गन्तव्य रहेका हिमाली क्षेत्रमा शतप्रतिशत र समग्रमा २० प्रतिशत जनसंख्याले कोभिडको डबल डोज खोप लगाइसकेकाले नेपाललाई रेड लिष्टबाट हटाउन कूटनीतिक पहलमा जोड दिए ।

लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले आफ्नोतर्फबाट बेलायत सरकारसँग पहल भइरहेको जनाउँदै डब्लुटीएममा आउने प्रतिनिधिमन्डलसँग समन्वय गरि मेलामा भाग लिइने बताइन् ।  

‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउण्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउण्ड तिर्नुपर्नेछ । पांच वर्ष मुनिकालाई निशुल्क छ ।

होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पिसिआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेश गर्नुपर्नेछ ।

आउंदो नोभेम्बर १ देखि ३ तारिखसम्म लन्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गइरहेको प्रत्यक्ष वर्ल्ड ट्राभल मार्टमा विश्वभरबाट झण्डै ५० हजार बढी सहभागी हुन्छन् । कम्तीमा ७० देशका पर्यटनमन्त्री र तीन हजार बढी अन्तर्राष्ट्रिय मिडियाहरुको पनि सहभागिता रहन्छ । यसपटक करिब २० युरोपेली मुलुकले पनि भाग लिने तय छ ।

वर्ल्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला मानिन्छ । यहां संसारभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरु, डेस्टिनेशन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकाय लगायतले भाग लिन्छन् ।

‘डब्लुटीएम’ मा सहभागी भएर आफ्ना ग्राहकहरुसंग सम्बन्ध सुदृढ गर्ने र नयां ग्राहक खोज्ने सरकारी तथा निजी क्षेत्रका सहभागीहरुको उद्देश्य हुन्छ ।

सो मार्टमा भाग लिन नेपालबाट पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कम्पनीहरुले वर्षेनी भाग लिंदै आएका थिए । गत वर्ष भने कोभिड महामारीका कारण मेला भएन ।

कोभिड १९ महामारी अघिसम्म बेलायतबाट वर्षेनी ६० हजार बढी बेलायती पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०१८ मा ६३ हजार ४ सय ६६, सन् २०१९ मा ६१ हजार १ सय ४४, सन् २०२० मा ११ हजार ७६२ र सन् २०२१ को अगष्टसम्म २ हजार ५७४ बेलायती पर्यटक नेपाल पुगेका छन् ।

दक्षिण एसियामा नेपालमात्र ‘रेड लिष्ट’ मा

दक्षिण एसियाली मुलुकमा नेपालमात्र बेलायतको रेड लिष्टमा छ भने कुल देशको संख्या ५४ छ । तर, नेपालमा संक्रमणदर घटिरहेको, खोप वितरण तीव्र, नयां भेरियन्ट नदेखिएको अवस्थामा पनि नेपाल रेड लिष्टमा पर्नु बिडम्बना मान्छन् बेलायतको हडर्सफिल्ड युनिभर्सिटीमा ग्लोवल हेल्थका प्राध्यापक तथा एसोसिएसट डिन डा. पदम सिम्खडा ।

नेपालमा कुल जनसंख्याको झन्डै १९ प्रतिशतले खोप लगाई सकेका छन् जबकि बंगलादेशमा झन्डै ९ प्रतिशत र पाकिस्तानमा ११ प्रतिशतले मात्र खोप लगाएका छन्।

नेपालबाट आएका हरेक १०० जना यात्रुमध्ये २ प्रतिशत भन्दा कममा कोरोना भाइरस संक्रमण पाइयो जबकि बंगलादेश र श्रीलंकामा यो २.६ प्रतिशत भन्दा बढी छ।

त्यस्तै नेपालमा देखिएको डेल्टा भेरियन्ट दक्षिण एसियाका अरु मुलुकहरुमा जस्तै छ। तर दक्षिण एसियाली मुलुकमध्ये नेपाल मात्रै ब्रिटेनको ‘रेड लिस्ट’ मा छ। ‘डेटाको आधारमा हेर्दा पनि नेपाललाई ‘रेड लिस्ट’ मा राखी राख्ने कुनै भरपर्दो कारण देखिंदैन, त्यसैले जति सक्दो चांडो कूटनीतिक माध्यमबाट ब्रिटेनसंग पहल गर्नु पर्छ’- प्राध्यापक सिम्खडाले भने।

यस्तै गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेमगाहा मगरले कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि रातो सूचीमा राख्नु अव्यावहारिक भएको बताए । उनले नेपाललाई कोभिड–१९ को रेड लिस्टबाट हटाउन ब्रिटिश यातायात मन्त्रीलाई पत्र पठाएको पनि जानकारी दिए । “हामीले यो विषयमा ब्रिटिश सांसदहरुसंग पनि सम्पर्क गरिरहेका छौं,” गाहा मगरले भने।

नेपालमा परराष्ट्र मन्त्री नहुनु र लण्डनस्थित नेपाली राजदूत पनि नयाँ भएकाले बेलायतसँग कूटनीतिक पहलको कमीले ‘रेड लिस्ट’ बाट नेपाल नहटेको डा. सिम्खडाको बुझाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू