बिहीबार, मंसिर १३, २०८१
22:30 | ०४:१५

शपथ खाएकै दिन न्यूयोर्क उडे परराष्ट्रमन्त्री

रासस सेप्टेम्बर २२, २०२१

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित समारोहमा नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खडकालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै । तस्बिर- रासस

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति न्यूयोर्क प्रस्थान गरेका छन् ।

गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मंगलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरे ।

‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत अधिकारी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा खड्कालाई आजै पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू