नेपाली लप्सीको अचारलाई बेलायतमा ‘ग्रेट टेष्ट’ अवार्ड
लन्डन । नेपालीमाझ लोकप्रिय लप्सीको अचार बेलायतमा आयोजित एक प्रतियोगितामा उत्कृष्ट बन्न सफल भएको छ ।
नेपाल फुड्स प्रालिको उत्पादन ‘हट एण्ड स्वीट लप्सी पिकल’ ले ‘गिल्ड अफ फाइन फुड’ द्वारा बेलायतमा आयोजना गरिएको प्रतियोगितामा ‘ग्रेट टेष्ट २०२१’ को वान स्टार उपाधि हात पारेको हो ।
नेपाल फुड्स प्रालिले करिब चार वर्षदेखि बेलायतमा नेपाली खाद्य सामग्री आपूर्ति गरि नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै आएको छ ।
प्रतियोगितामा अन्य थुप्रै नेपाली उत्पादन समावेश गरिएपनि लप्सीको अचारलाई निर्णायक मण्डलले रुचाएका थिए । सो प्रतियोगितामा विश्वका १०८ मुलुकबाट १४ हजार ११३ वटा उत्पादनबीचमा प्रतिस्पर्धा भएको थियो ।
निर्णायक मण्डलमा जोआना ब्लीथम्यान, खोज पत्रकार र खाद्य लेखकहरु, मास्टर सेफ, सेफ, कुक लगायत तीन सय ५५ जना विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व थिए ।
प्रतियोगितामा २१८ लाई ग्रेट टेष्ट थ्री स्टार, एक हजार १३८ लाई ग्रेट टेष्ट टु स्टार र ४ हजार २७ लाई ग्रेट टेष्ट वान स्टार अवार्ड प्रदान गरिएको थियो ।
सन् १९९४ मा स्थापित उक्त कम्पनी संसारकै सबैभन्दा ठूलो र लामो समयसम्म निरन्तर चल्दै आएको विश्वसनीय र सम्मानित संस्था हो ।
नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले सन् २०१९ मा ग्रेट टेष्ट अवार्ड २०१९ पाएको भए पनि सुकुटी बेलायतमा नै तयार भएकाले नेपालको उत्पादन थिएन । तर, लप्सीको अचार भने शतप्रतिशत नेपालकै उत्पादन भएकोले नेपाल र नेपालीकै लागि गौरवको विषय भएको नेपाल फुड्सका निर्देशक विकास नेपालले बताए ।
यस कम्पनीले विशेष गरी दाल, चामल, कोदोको पीठो, फापरको पीठो, वाइवाइ, चिउरा, सुकुटी, विभिन्न प्रकारका नेपाली अचार, गुन्द्रुक, मःम, मार्सी चामल, दाल, फापरको पिठो, मकैको च्याख्ला, गुन्द्रुक, चटपटे भुजा, लाखामरी लगायत सयौं नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै आएको छ ।
उत्कृष्ट र आकर्षक डिजाइनमा प्याकेजिङ गरिएकाले विदेशी ग्राहकसमेत उत्पादनबाट आकर्षित हुने गरेका छन् । नेपाल फुड्सका उत्पादनहरू युरोप, अष्ट्रेलिया लगायत मुलुकमा उपलब्ध भइरहेको नेपालले बताए ।
गुणस्तरीय र विश्वसनीय भएका कारण कम्पनीले आइएसओ सर्टिफाइडको प्रमाणसमेत प्राप्त गरेको छ । बेलायतका विभिन्न स्थानमा डेलिभरी गर्ने व्यवस्था भएकाले नेपाल फुड्सले थुप्रै नेपाली उत्पादनलाई विक्री वितरण गर्दै आएको छ ।