शुक्रबार, मंसिर १४, २०८१
04:33 | १०:१८

एनआरएनएको सदस्य संख्या पांच लाख पु-याउने कुल आचार्यको महत्वाकांक्षी योजना

'एक एनआरएन एक रोजगार' अभियान पनि प्राथमिकता

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२१


काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफू निर्वाचित भए संघको सदस्य संख्या पांच लाख पुराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।अहिले संघको सदस्य संख्या १ लाख बढी छ ।

नेपाली लिंकसंग कुरा गर्दै आचार्यले थप मुलुकहरुमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषदहरुलाई क्रियाशील गराएर सदस्य संख्या पांच गुना बढाउने आफूले योजना ल्याएको खुलासा गरे ।

उनले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुरयाउने पनि बताए । हालसम्म ८४ देशमा एनआरएनए पुगेपनि २० भन्दा बढी एनसीसी निष्कृय रहेका छन् ।

आचार्यले तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैतृक सम्पत्तिको अधिकार सुरक्षित गर्नुका साथै राहदानीसहित नागरिकताको अधिकार स्थापित गर्ने आफ्नो योजना रहेको बताए । “मैले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका नेताहरूसंग भेटवार्ता गरेको छु र उहाँहरु सबैजना सकारात्मक हुनुहुन्छ”- आचार्यले भने ।

‘म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई ‘पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु,’ उनले भने ।

उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताए ।

‘एक एनआरएन एक रोजगार’ अभियान

संघका सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष रहिसकेका आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने घोषणा पनि गरेका छन् । नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र पछि सातै प्रदेशमा ती केन्द्रहरुको विस्तार गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई  सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्कीरहेका बालबालिकालाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु  संचालन गरिने पनि बताए ।

गैरआवासीय नेपाली खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने पनि उनको योजना छ ।

आचार्यले हालसम्मको आफ्नो अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताए । उनले आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रममार्फत औपचारिक घोषणा गर्ने पनि जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू