बेलायतभर तीजको रमझम (तस्विरहरु)
लन्डन । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज बेलायतवासी नेपाली महिलाहरुले पनि मनाएका छन् ।
बिहीबार साउथ इष्ट लन्डन, अल्डरसट, लन्डन अल्पर्टन, साउथ हल, मिडल्यान्डसहित नेपालीको बाक्लो बसोबास रहेका विभिन्न क्षेत्रमा उनीहरु भेला भएर नाचगान एवम् पूजाआजा गर्दै तीज मनाए ।
कोभिडका कारण गत वर्ष सामूहिक रुपमा तीज मनाउन नपाएका महिलाहरुले यसपटक भने जमघटसहित तीज मनाए । तर यस वर्षका तीज कार्यक्रमहरुमा कोभिड संक्रमणको त्रासले विगतका वर्षहरुमा जस्तो उल्लेख्य सहभागिता देखिएन ।
साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरले वर्षेनी गर्दै आएको तीज विशेष कार्यक्रम बिहीबार एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न भयो । लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा स्थनीय महिलाहरुले पूजाआजा एवम् रमाइलो नाचगान गरे ।
त्यस्तै, अल्डरसटको शिव मन्दिर, साउथ हल राममन्दिर, अल्पर्टन हिन्दू मन्दिर लगायतमा पनि तीजको नाचगान र पूजाआजा गरियो ।
बेक्स्ली नेपाली समाज बेक्स्ली, हेल्पिङ ह्यान्ड्स समूह यूके, नेप्लिज कम्युनिटी नर्दन आयरल्यान्ड लगायतका संस्थाले पनि आ-आफ्नो क्षेत्रमा तीज विशेष कार्यक्रम गरी सामूहिक रुपमा तीज मनाए ।
लन्डनस्थित नेपाली दूतावासले तीजको अवसरमा गर्दै आएको कार्यक्रम भने कोभिडका कारण यसपटक आयोजना गरिएन ।
बेलायतका विभिन्न क्षेत्रमा तीजको रमझम् तस्विरमा:
तस्विर- शिव भण्डारी/ मिलन तमु/गुणदेव घिमिरे