बिहीबार, माघ ३, २०८१
06:52 | १२:३७

स्वीन्डनमा नेपाली सांस्कृतिक कार्यक्रम

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२१

लन्डन । नेपलिज एसोसिएसन अफ वील्सायरले गत सेप्टेम्बर ४ तारिख शनिबार स्वीन्डनको फारिङडन पार्कमा नेपाली सांस्कृतिक कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा विभिन्न १० जातजातिले आ-आफ्नो भेषभूषासहित नेपाली कला संस्कृति प्रदर्शन गरेका थिए । सो अवसरमा स्थानीय नेपालीले विभिन्न किसिमका स्टल पनि राखेका थिए ।

नेपाली जहां रहे पनि आफ्नो कला संस्कृति, भाषा, भेषभूषा, रितिरिवाज, परम्परा बिर्सन हुन्न भन्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रमका सभापति एवं अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । अध्यक्ष गुरुङले कार्यक्रमबाट स्थानीय बेलायती प्रभावित भएको जनाए । यस खालका कार्यक्रमले स्थानीय समुदायबीच अन्तरघुलनमा सघाउने विश्वास पनि उनले व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि दक्षिण स्वीन्डनका सांसद तथा कानूनमन्त्री 
रोबर्ट बकल्याण्ड थिए भने विशेष अतिथिमा स्वीन्डन बरो काउन्सिलका मेयर ग्यारी परकिन्सलाई निम्त्याएको थियो ।

प्रमुख अतिथी, विशेष अतिथी र संस्थाका अध्यक्षले एकै पटक तीनवटा पानसमा मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा कोरोना महामारीमा ज्यान गुमाएका विश्वभरका मानिसहरुको सम्झनामा बीर सुनुवारले ब्याग पाइपर बजाएका थिए भने तिनै जनाले फूलको रिथ चढाएपछि एक मिनेट मौनधारण गरिएको थियो ।

तीन सत्रमा सञ्चालित उक्त कार्यक्रममा एसोसिएसनका सचिव भवानी गुरुङले पहिलो र अन्तिम कार्यक्रम तथा दोस्रो चरणको सांस्कृतिक तथा नृत्य कार्यक्रम उपाध्यक्षहरु खगेन्द्र गौचन र मञ्जु बुरा रानाले गरेका थिए । उपाध्यक्ष मञ्जु बुरा काम विशेषले बीचमै बाहिरिएपछि शशी गुरुङले साथ दिएकी थिइन् ।

कार्यक्रममा रसना गुरुङले नेपाली र अंग्रेजी गीतहरु गाएर दर्शक मन जित्न सफल भएकी थिइन् । सो अवसरमा स्थानीय ब्रिटिशहरुको ब्रास ब्याण्डले पनि बाजा बजाएर कार्यक्रममा थप रौनक बढाएको थियो । बालबालिका पनि विभिन्न खेलमा रमाएका देखिन्थे ।

कार्यक्रममा कानूनमन्त्री 
रोबर्ट बकल्याण्डले चाख मानेर ४ घण्टा कार्यक्रम अवलोकन गरेका थिए । मेयर ग्यारीले नेपाली संस्कृतिबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन सुझाव थिए । उनले नेपाली समुदायले स्वीन्डनमा अति प्रशंसनीय काम गरेर कम्युनिटी अवार्ड पाएको प्रसंग उल्लेख गर्दै खुशी पनि व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा मेयर ग्यारी र एसोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले नृत्यमा भाग लिने स-साना बालबालिका, एमटीएम अवार्डका डाइरेक्टरलगायत विभिन्न व्यक्तित्वलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू