नेपालमा संक्रमित भन्दा निको हुने संख्या बढी
काठमाडौँ । नेपालमा कोरोना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ७२ रहेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९४.७ प्रतिशत छ ।
हालसम्म नेपालमा सक्रिय संक्रमित ३० हजार ३०३ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट अहिलेसम्म १० हजार ८७९ को मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३६६.७ जनाको संक्रमणका कारण मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।
मुलुकभर हाल ५१४ जना सघन उपचार कक्ष (आइसियु), १५४ जना भेन्टिलेटर, २८ हजार ३१४ जना होम आइसोलेसन, एक हजार ९८९ जना संस्थागत आइसोलेसन र २५८ जना क्वारेन्टिनमा छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ । आज ८० हजार ४०० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ ज्नाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।