मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसित पराजित
काठमाडौं । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।
भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरे । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गरेका थिए । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो ।
नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गरेका थिए । यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । उनी बिनाअवरोध सहजै गोल गर्न सफल भएका थिए । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो । खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । उनले झण्डै २० यार्ड टाढाबाट गोल गरेका थिए ।
नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक÷एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले गोल गर्न सफल भएका थिए । आज खेलको ७४औँ मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेँलो कार्ड पाएका थिए । भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकिपर विशाल श्रेष्ठले डेब्यु गरेका थिए ।
खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित भए । दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गरेका छन् । यस्तै प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित भए । उनले रु एक लाखको चेक र ट्रफी पाए । उनीहरूलाई गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गरे ।
आजको खेलसँगै नेपाल र भारतबीच २१ पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् । विश्व फुटबल महासंघ (फिफा) को बरियतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ । भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा छ ।
अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले खेल हेर्न अनुमति दिएको हो । खेलमा पाँच हजार १०० दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । भातीय टोली नेपालसित खेल्न ६ वर्षपछि नेपाल आएको हो । नेपालले भारतीय टोलीलाई ८ वर्षयता हराउन सकेको छैन् । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३५ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा ११ गोल मात्र गर्न सकेको छ ।
एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।
कप्तान चेम्जोङको कीर्तिमान
भारतविरुद्धको आजको खेलसँगै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् ।
सन् २००८ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले पहिलो खेल कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेलेका थिए । उचाइ ६ फिट २ इन्च भएका उनले १८ वर्षको उमेरमा नै राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । भारतविरुद्धको आजको खेलसँगै राष्ट्रिय टोलीबाट चेम्जोङले खेलेको खेलको संख्या ७४ पुगेको छ ।
यसअघि विराज महर्जनको नाममा राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेको कीर्तिमान थियो । महर्जनले ७३ खेल खेल्दै खेलबाट सन्यास लिएका थिए । बिहीबार भारतविरुद्धको पहिलो खेल खेल्दै चेम्जोङले महर्जनसित बराबरी गरेका थिए । उनले सन् २०१८ यता नेपाली टोलीको कप्तानी गर्दै आएका छन् । उनको नेतृत्वमा नेपालले एएफसी सोलिडारिटी कप र थ्री नेसन्स कपको उपाधि जितिसकेको छ । चेम्जोङ दक्षिण एसियाकै उत्कृष्ट गोलकिपरका रूपमा चिनिन्छन् ।
एमाले अध्यक्ष ओली रंगशालामा
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको फुटबल खेल अवलोकन गर्न दशरथ रंगशाला पुगेका थिए । मैत्रीपूर्ण फुटबलको अवलोकन गर्न उनी खेल शुरु हुनु अगावै रंगशाला प्रवेश गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५