बिहीबार, माघ ३, २०८१
05:47 | ११:३२

क्रोयडन नेपाली समाजको तीज विशेष कार्यक्रममा रमाए चेली

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२१

लन्डन । क्रोयडन नेपाली समाज यूके (सीएनसी यूके) ले आफ्नो परम्परा कयम राख्दै यस वर्ष पनि हरितालिका तीज विशेष कार्यक्रमबीच मनाएको छ ।

समाजले विगत ९ वर्षदेखि लगातार तीज कार्यक्रम 
गर्दै आएको छ ।

गत शुक्रबार स्थानीय स्पाइस यार्ड रेष्टुरेन्टमा अत्यन्त उल्लासमय वातावरणमा तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा क्रोयडन तथा त्यस वरपर बस्ने नेपाली दिदीबहिनीले नेपाली खाना दर तथा नृत्यहरुको समिश्रणबीच आफ्नो संस्कृतिको जगेर्ना गर्दै तीज पर्व मनाए ।

कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा विभाजित थियो । औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष डा. सुरजमणि पौडेलले गरेका थिए भने प्रमुख अतिथी थिइन् लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमति रोशन खनाल । दूतावासकी एट्याची पुजन पाण्डे, एनआरएनए यूके महिला उपाध्यक्ष शकुन्तला गुरुङ लगायत पनि विशेष अतिथीका रुपमा सहभागी थिए ।

शुरुको औपचारिक कार्यक्रम सञ्चालन सचिव केशव ढकालले गरेका थिए । अतिथीहरुको आसन ग्रहणपछि सीएनसी यूकेकी सहकोषाध्यक्ष रंजना केसी अधिकारी तथा सहसचिव पार्वता कुंवरले बांकी कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रमको आरम्भमा नेपाली राष्ट्रिय गान बजाइएको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति डा. सुरजमणि पौडेलले स्वगत मन्तव्यका क्रममा प्रमुख अतिथी, विशेष अतिथी लगायत उपस्थित सम्पूर्ण आगन्तुकहरुमा तीजको शुभकामना व्यक्त गर्दै सहभागिताका लागि आभार व्यक्त गरे । अध्यक्ष डा. पौडेलले हालै गम्भीर र डरलाग्दो सडक दुर्घटनामा सख्त घाइते भएका समाजका संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटाको उपचार अगाडि बढिरहेको र अहिले रिकभर हुने क्रममा रहेको अवगत गराएका थिए ।

पौडेलले संस्थापक अध्यक्ष बास्कोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुःखद घडीमा उनको उपचार तथा परिवारजनमा सहयोग गर्नेप्रति पनि आभार व्यक्त गरे । सो अवसरमा संस्थापक अध्यक्ष बास्कोटाले आफू अनुपस्थित रहेपनि तीज कार्यक्रम सफलताका लागि पठाएको मर्मस्पर्शी शुभकामना सन्देश पढेर सुनाइएको थियो । समाजकी सहकोषाध्यक्ष रन्जना केसीले बास्कोटाको सन्देश पढेर सुनाउंदा उपस्थित सम्पूर्ण महिलाहरु अत्यन्त भावुक भएका थिए ।

कार्यक्रममा सीएनसी यूकेका नयां सदस्यहरु दिवाकर खड्का, श्रीमति शर्मिला खत्री, श्रीमति गौमाया गुरुङ तथा दिवस रानाभाटलाई क्रोयडनमा स्वागत पनि गरिएको थियो ।

त्यसपछि सानी नानी इभा पौडेलले स्टेजमा ‘यो नेपाली शीर उचाली…’ बोलको राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गर्दा दर्शकहरु रोमाञ्चित देखिन्थे । साथै श्रीमति बन्दना कुम्बायाले ‘गैरी खेतको शीरै हान्यो…’ गीतमा अर्को आकर्षक नृत्य गरिन् ।

मन्तव्यका क्रममा प्रमुख अतिथी दूतावासकी उपनियोग प्रमुख श्रीमति रोशन खनालले तीजको अवसरमा आफू तथा सहकर्मी पुजन पाण्डेलाई निम्त्याइ सीएनसी यूकेका चेलीहरुसंग तीज मनाउने अवसर दिएकामा संस्थालाई धन्यवाद दिंदै संस्थापक अध्यक्ष बास्कोटाले हस्पिटलको बेडबाट संप्रेषण गरेको शुभकामना सन्देश तथा मर्मस्पर्शी भावनाले भरिएको म्यासेज सुन्दा उनमा संस्थाप्रति कति अगाढ माया र प्रगतिका लागि कटिवद्धता छ भन्ने झल्किएको बताइन् ।

औपचारिक कार्यक्रमको अन्त्यमा ग्रुप फोटो सेसन गरि ‘दर’ ग्रहण गरिएको थियो । त्यसपछि चेलीहरु राती अबेरसम्म विभिन्न तीज गीतहरुमा नाचेर रमाइलो गर्दै नेपाली संस्कृतिको जगेर्ना गर्न सीएनसी यूकेले खेलेको महत्वपूर्ण भूमिकाको सरहाना गरेका देखिन्थ्यो ।

भरपुर मनोरन्जन तथा नेपाली कला संस्कृतिले भरिएको उक्त कार्यक्रम सफल बनाउन संस्थाका उपसभापति प्रमोद खनाल, कोषाध्यक्ष श्रीमति उषा बास्कोटा, सदस्य शकुन्तला खपांगी, सदस्य सुनिता श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारीले सहयोग गरेका थिए भने पाहुनाहरुको सम्मान, सत्कार तथा स्वागतका लागि सीएनसी यूकेका सदस्यहरु कमला विश्वकर्मा, रेनु कार्की, हिरा खनाल, जमुना पुन तथा स्थानीय गायिका निर्मला रानाले अत्यन्त सहयोग गरेका थिए । सहभागी महिलाहरुले स्वादिष्ट दर खुवाउने स्पाइस यार्डका डाइरेक्टर मदन खपांगी र रेष्टुरेन्ट परिवारलाई धन्याद दिएका छन् ।

बेलायतस्थित नेपाली संघसंस्थाले यस्ता सांस्कृतिक कार्यक्रम उल्लेख्य गरेपनि सीएनसी यूकेको मौलिक कार्यक्रम अनुकरणीय रहेको प्रतिक्रिया सहभागीले दिएका थिए ।

अध्यक्ष डा. सुरजमणि पौडेलले क्रोयडन नेपाली समाज यूकेको नेतृत्व सम्हालेपछि संस्थाको उचाईं थप बढेको विश्लेषण गरिन्छ । कोभिड महामारीका बेला नेपालीलाई खोप लगाउन होस् वा नेपालमा स्वास्थ्य उपकरण पठाउन होस्, संस्थाले विशेष भूमिका निर्वाह गरेको थियो । संस्थाले लकडाउनका बेला एनएचएस स्टाफलाई निशुल्क खाना पनि उपलब्ध गराएको थियो ।

क्रोयडन र आसपास शहरमा रहेका नेपालीलाई एकीकृत गरि स्थानीय समुदायसंग निकट रहेर काम गरिरहेको उक्त संस्थाले समाजमा बेग्लै छाप छोडेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू