बिहीबार, माघ ३, २०८१
05:48 | ११:३३

बेलायतको ‘रेड लिष्ट’ ले नेपालीलाई सास्ती

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२१

लण्डन । कोभेन्ट्री युनिभर्सिटीमा ‘इङलिस ल्याङवेज टिचिङ एन्ड अप्लाइड लिङ्गुइस्टिक’ मा मास्टर्स गर्न फूल फि १६ हजार ६०० पाउन्ड जुटाउन कम सजिलो थिएन ज्ञानेन्द्र थपलियालाई ।

ऋण धन गरेर युनी फि जुटाए, भिजा पनि लाग्यो । जब बेलायत टेके, थप २२८५ पाउन्ड (करिब चार लाख रुपैयाँ) होटल क्वारेन्टिनवापत तिर्नु पर्‍यो । सरकारी नियम पालना नगरी सुखै थिएन ।

सेप्टेम्बर इन्टेकमा आउनै पर्ने वाध्यता भएपछि १६ दिनको पहिलो सन्तान छोडेर आए उनी । ११ रात बिताएर ३० अगस्तमा होटल क्वारेनटिनबाट निस्किएका ज्ञानेन्द्र भन्छन् ‘नेपाल जस्तो गरिब मुलुकबाट आएका हामीलाई त्यो शुल्क थाम्नै नसकिने हो । नेपाल सरकारले अलिकति लविइङ गर्ने हो भने केही परिवर्तन हुन सक्थ्यो तर हाम्रो सरकार कमजोर छ ।’

लण्डन हिथ्रो नजिक चार तारे होटेलमा अरु सुविधा राम्रै भए पनि खाना नमिलेको उनी बताउंछन् ।

****

कोभिड महामारीको दोश्रो लहरमा आफ्नो बाबु गुमाउनुको पीडा छंदै थियो, नेपाल पुगेर बेलायत आउंदासम्म बेहोर्नु परेको थप मानसिक तथा आर्थिक क्षति वर्णन गर्न सक्दैनन् अर्जुन बोहोरा ।

बाबु बितेको खबर पाउनासाथ टर्कीस् एयरलाइन्सको आवतजावत टिकट ११ सय पाउण्ड हालेर तुरुन्त नेपाल उडे उनी । बाबुको अन्त्येष्टी सकेर ५ हप्तापछि  लन्डन फर्कन लाग्दा एयरलाइन्सले उडान रद्द भएको जनाउ दियो । यता काममा तत्काल आउनुपर्ने भएकाले अर्को दिनसम्म कुरिराख्न सम्भव थिएन । काठमाडौंमा एजेन्टलाई दुई लाख रुपैयां तिरेर उनी कतार एयरवेजमा लन्डन उत्रिए ।

लन्डन आइसकेपछि ११ रातको खर्चिलो होटल क्वारेन्टिन अनि दुईपटक पिसिआर परीक्षण झन्झट ।’नजिक होटल नभएर गेटवीक पुरयायो । होटल क्वारेन्टिन बस्दा कतै निस्कन नपाइने कारावास जस्तो अनुभव भयो’, अर्जुनले सुनाए, ‘खाना पनि नमिठो अनि समयमा नआउने । यो वर्ष दशा पनि कम रहेनछ ।’

उनले होटल क्वारेन्टिनवापत १७५० पाउण्ड तिरेका थिए । तर, अहिले त्यो शुल्क बढेर २२८५ पाउण्ड पुगेको छ ।

****

माथि उल्लेखित समस्याले समग्र नेपालीको प्रतिनिधित्व गर्छ । जो बेलायत आउनै पर्ने अवस्थामा छन् वा यहींका बासिन्दा पनि आकष्मिक यात्रा गर्नु पर्दा अहिले ज्यादै सकस भोगिरहेका छन् । विशेष गरि नेपालबाट बेलायत भित्रने यात्रुहरु बेलायतको कोभिड नियमका कारण प्रताडित बनेका हुन् ।

सरकारले अन्य देशबाट बेलायत भित्रंदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरि तीन लिष्ट निर्धारण गरेको छ ।

‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउण्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउण्ड तिर्नुपर्नेछ । पांच वर्ष मुनिकालाई निशुल्क छ । होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पिसिआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेश गर्नुपर्नेछ ।

सरकारले निर्धारण गरेको क्वारेन्टिन शुल्क जागिरमात्र गरेर गुजारा गर्नेलाई निकै बढी हो ।

अहिले घुम्ने प्रयोजन (भिजिट भिजा) मा बेलायत आउन प्रतिवन्ध भएपनि ब्रिटिश राहदानीवाहक, बेलायतको आवासीय भिजा भएका र विद्यार्थी बेलायत आउन पाउंछन् ।

यतिखेर सेप्टेम्बर इन्टेकका लागि बेलायत आएका नेपालीसहित अन्य अन्तर्राष्ट्रिय विद्यार्थीले झन् सास्ती खेपिरहेको कन्सल्टेन्सीका एजेन्ट बताउंछन् । बेलायत आउने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि होटल क्वारेन्टिन शुल्क शुरुमा अरु कसैले तिरिदिने तर पछि बैंकलाई ‘कारोवारबारे म जानकार छैन्’ भनेर रकम फिर्ता माग्ने क्रम (फ्रेण्डली फ्रड) बढेपछि अहिले होटल बस्ने स्वयंको कार्डबाट तिर्नुपर्ने कडाइले नयां नेपाली विद्यार्थी थप प्रताडित बनेका बताइन्छ ।

नेपाल जाने यात्रु झण्डै ९० प्रतिशत घटे

लन्डनस्थित एक ट्राभल एजेन्सी ट्राभल कन्सोलका निर्देशक बिराज भट्टका भनाइमा ‘रेड लिष्ट’ का कारण अहिले नेपाल जाने झण्डै ९० प्रतिशत यात्रु घटेका छन् ।

‘महंगो खर्चमात्र होइन्, समय महत्वपूर्ण भएकाले मानिसहरु अत्यावश्यक यात्राबाहेक झन्झट बेहोर्न चाहंदैनन्’, भट्टले भने, ‘कोभिड महामारी अगाडिसम्म दशैं तिहार र एनआरएनए अधिवेशनका बेला नेपाल जाने नेपालीले बुकिङ भरिइसकेको हुन्थ्यो, यो पटक सुनसान छ ।’

अहिले एयरलाइन्स पनि समग्रमा करिब ८० प्रतिशत घटेका अनुमान छ । नेपालबाट बेलायत आउन कतार र टर्कीसमात्र सहज उपलब्ध हुने भएकाले यात्रा धेरै कठिनाइ र महंगो भएको बताउंछन् भट्ट ।

‘हामीले यात्रुको सुविधाका लागि नेपाल र लन्डन अफिसबाट टिकट, होटल बुकिङ र पिसिआर टेष्टको प्याकेजमा समन्वय गरिरहेका छौं । तर उड्ने धेरै छैनन्’, भट्टले गुनासो गरे ।

नेपाल सरकारले ब्रिटिश सरकारसंग पहल गरेर रेड लिष्टबाट हटाइदिए हुन्थ्यो भन्ने माग बेलायतस्थित नेपाली समुदायको छ ।

‘भारत रेडबाट एम्बर लिष्टमा आउने तर नेपाल त्यहां भन्दा कम संक्रमण भएको देश ‘रेड’ मै पर्नु विडम्बना हो’, अर्जुनले भने, ‘बेलायत भारतबीच व्यापारिक लगायत अन्य स्वार्थका कारण भारतमा परिवर्तन भयो । हाम्रो पक्षमा कसले बोलिदिने ?’

एम्बर लिष्टमा रहेको देशबाट बेलायत भित्रिएका यात्रुले होटल नगइ आफ्नै घरमा १० दिन आइसोलेसन बसे हुन्छ । –कान्तिपुर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू