बिहीबार, माघ ३, २०८१
04:59 | १०:४४

एनआरएनए यूकेले ग्लोवल कन्फरेन्स लगत्तै च्यारिटी डिनर गर्ने

सल्लाहकारहरुको टुंगो सेप्टेम्बर २७ भित्र

नेपाली लिङ्क सेप्टेम्बर १, २०२१

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आगामी सेप्टेम्बर १९ मा एक च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ ।

संघको गत सोमबार सम्पन्न एघारौं कार्यसमिति (२०२१–२३) को तेस्रो भर्चुअल बैठकले १९ सेप्टेम्बरमा लन्डनमा हुने ग्लोवल हेल्थ कन्फरेन्सपश्चात सोही स्थानमा एक च्यारिटी डिनर गर्ने निर्णय गरेको हो ।

कार्यक्रम च्यारिटी विभागको आयोजनामा हुनेछ । बैठकमा अध्यक्ष प्रेम गाहामगरले ‘ग्लोवल हेल्थ कन्फरेन्स’ को तयारीबारे अपडेट गराएका थिए ।

बैठकले कार्यसमितिमा को–अप सदस्य कति जना नियुक्त गर्ने भन्ने विषयमा विधानमा अस्पष्टता देखिएकाले उपाध्यक्षत्रय नारायण कंडेल, रामचन्द्र पोखरेल र गोविन्द खरेललाई विधानको पुनः अध्ययन गरी अर्को बैठकमा कार्यसमितिलाई स्पष्ट पार्ने जिम्मा दिएको छ ।

बैठकले आउंदो २ अक्टोबर २०२१ शनिबार दि प्यालेस, अल्डरसटमा नवनियुक्त सल्लाहकारहरु र संरक्षक परिषदलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । सोही कार्यक्रममा कार्यसमितिका नवनियुक्त सदस्यहरुलाई शपथ गराइ निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने योजना छ ।

बैठकले कार्यक्रम संयोजनको जिम्मेवारी महासचिवलाई सुम्पिएको छ ।

त्यसैगरि, बैठकले एनआरएनए यूके सल्लाहकारहरुको नामावलीको प्रारम्भिक रुपरेखा राज्य परिषदहरुसंगको सामञ्जस्यतामा सेप्टेम्बर ६ भित्र तयार गर्ने र सेप्टेम्बर १३ को जुम बैठकमा नामावलीउपर कार्यसमितिमा छलफल गरि आवश्यक परिमार्जनसहित उक्त नामावलीलाई सेप्टेम्बर २७ भित्र अन्तिम रुप दिने निर्णय गरेको छ ।

बैठकमा कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए यूकेको कार्यालय स्थापनार्थ भइरहेका गतिविधिबारे कार्यसमितिलाई अपडेट गराएका थिए ।

बैठकमा अध्यक्ष प्रेम गाहा मगरले कोषाध्यक्ष खरेललाई अल्डरसटमा कार्यालय स्थापनार्थ कृयाकलापहरुमा उपाध्यक्ष सुनिलबाबु खड्का र प्रवक्ता भरतमणी चोङबाङसंग पनि आवश्यक सल्लाह सहयोग लिएर कार्य गर्न सल्लाह दिएका थिए ।

बैठकमा कोषाध्यक्ष खरेलले आफ्नो आर्थिक विभागमा सहसंयोजक १, सदस्य सचिव १, सदस्य १ र सल्लाहकार १ गरी चार जना सदस्य मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्ने सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।

त्यसैगरि बैठकमा प्रवक्ता चोङबाङले आफ्नो प्रेस तथा प्रचारप्रसार विभागमा सहसंयोजक १, सदस्य सचिव १ र सदस्यहरु २ गरी बढीमा चार जना सदस्य मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्नेबारे अवगत गराए ।

बैठकमा अध्यक्ष गाहामगर र उपाध्यक्ष कंडेलले अक्टोबरमा हुने संघको अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशनका लागि चुनिएका ६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशत प्रतिनिधिहरुको अन्तिम नामावलीबारे एनआएनए आइसीसी, एनआरएनए यूकेका सदस्यहरु, मिडिया र कार्यसमितिभित्र उठेका जिज्ञासा समाधान गर्ने प्रयास गरेका थिए ।

समुदाय र संघमा योगदान भन्दा पनि चाकडी, चाप्लुसी गर्नेलाई महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरिएपछि अहिले यो विषय विवादमा छ ।

बैठकको अध्यक्षता अध्यक्ष प्रेम गाहा मगर र सञ्चालन महासचिव खुशी लिम्बुले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू