बिहीबार, माघ ३, २०८१
03:02 | ०८:४७

लन्डनमा १२ औं नेपाली मेला, झल्कियो ‘मिनी नेपाल’

नेपाली लिङ्क अगस्ट ३०, २०२१


लन्डन । पोखराकी शशी गुरुङ कोभिड संक्रमणको वास्ता नगरि आइतबार लन्डनमा आयोजित नेपाली मेलामा सहभागी भइन् ।

‘मेलाबारे धेरै सुनेकी थिएं, तर पहिलोपटक हेर्न पाउंदा मिनी नेपाल यहीं देखें’, झण्डै दुई वर्षअघि लन्डन आएकी उनले सुनाइन्, ‘नेपालमै नदेखेका धेरै चीज लन्डनमा देख्न पाइयो । हामी कला संस्कृतिमा सांच्चिक धनी छौं । मैले त नेपाल लैजान ८ वटा स्वीटर पनि किनें ।’

सुमन शर्मा लन्डन बसेको एक दशकबढी हुंदा पनि मेला हेर्न यस अघि कहिल्यै पुगेका थिएनन् । तर, यसपटक साइत जुर्दा उनी दंग थिए । ‘हामीले नेपालमा भुलिसकेका कतिपय संस्कृति, रहनसहन, भेषभूषा लन्डनमा जिवित राखेका रहेछन् नेपालीले । यसले दोश्रो पुस्तालाई मातृभूमिप्रति आकर्षित गरिराख्छ जस्तो लाग्छ’-उनले भने ।

तमुधि यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा केम्पटन पार्क रेस कोर्समा गरेको १२ औं नेपाली मेलाले मिनी नेपाल झल्काइरहेको अनुभूति भयो ।

‘हाम्रो संस्कार, हाम्रो पहिचान, हाम्रो गौरव’ नारासहित आयोजित मेलाका मुख्य आकर्षण थिए झांकी र नृत्य । गायन प्रस्तुति र खाना लगायत अन्य व्यापारिक स्टलमा पनि दर्शक झुम्मिरहेका देखिन्थे । नेपालमा झण्डै लोप भइसकेका हलो, जुवा, जांतो, ढिकी, कुटो कोदालो समेत देख्न पाए दर्शकले । धान रोप्दै असारे गीत पनि गुन्जियो मेलामा ।

गुरुङ, मगर, किरात राई, लिम्बु, तामाङ, नेवार लगायत विभिन्न जातीका मौलिकता झल्कने पोशाक र गरगहना पनि मेलाका आकर्षण थिए ।

तमुहरुको ट्होंटे होस् वा सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रदर्शन गरेको गाउंमा महामारी पस्न नदिन गरिने परम्परागत पूजाआजा । किरात राई यायोख्या यूकेको चण्डी/ उधौली उभौली पनि कम आकर्षक थिएन ।

पासा पुच गुथि यूकेले दिवंगत आत्माको सम्झनामा हरेक वर्ष उपत्यकामा गाईको मूर्ति (ताहामचा) आकार बनाइ मनाइने गाइजात्रा प्रस्तुत गर्दा भक्तपुरमै रहेजस्तो भान हुन्थ्यो ।

मेलामा डेढ दर्जन संघसंस्थाले विभिन्न झांकी र नृत्य प्रस्तुत गरे ।

करिब २५ सय सहभागी मेलाका प्रमुख अतिथी राजदूत लोकदर्शन रेग्मीले मेलामा सिंगो नेपाल उपस्थित भएको उल्लेख गर्दै प्राण भन्दा प्यारो देश नेपालको भाषा, संस्कृति, सभ्यता, भेषभूषासहित नेपाल र नेपाली चिनाउने झलक हेर्न पाउनु गौरव भएको बताए । उनले यस खालका कार्यक्रमले भाषा, संस्कृति र सभ्यतालाई थप मजबुत र बेलायत नेपालबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै प्रवासमा नेपालीको यो योगदान नेपाल सरकारसमक्ष पुरयाउने पनि बताए ।

मन्तव्यका क्रममा तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले मेला तमुधिले गरेपनि दूतावास र समस्त संघसंस्थाको सहयोग रहेकाले यो सबैको साझा मेला हो भन्ने कुरा मन मस्तिष्कमा राखिदिन आग्रह गरे ।

प्रवासमा नेपाली कला संस्कृति, भाषा, परम्परा, भेषभूषा आदि जीवन्त राख्ने उद्देश्यले मेला गरिएको जनाउंदै उनले सबै सहयोगीप्रति आभार समेत व्यक्त गरे ।

मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङका अनुसार सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, ऐम्बेसडर कप र एनआरएनए यूके कप जित्यो ।

दोश्रो पुरस्कार चार भन्ज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात राई यायोक्खा यूकेले ५ सय पाउन्ड पायो । उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो ।

झांकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भन्ज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भएर ५ सय र ३ सय पाउन्ड पाए । नृत्यमा पनि सिक्लेस टिमले नै जितेर ५ सय पाउण्ड र दोस्रो भई किरात राई यायोक्खाले ३ सय पाउन्ड प्राप्त गरेको छ ।

सो अवसरमा बेलायतवासी गीतकार एकेन्द्र गुरुङद्धारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक पनि विमोचन गरिएको थियो ।

तमुधिं यूके आमा समूहले च्यारिटीका लागि कपडा बेचेर संकलन गरेको ७ सय पाउन्ड छिट्टै नेपाल पठाइनेछ ।

बाँकी फोटोका लागि यहाँ क्लिक गर्नुहोला-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू