आइतबार, माघ ६, २०८१
03:01 | ०८:४६

कांग्रेस महाधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति

रासस अगस्ट २८, २०२१

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

सभापति देउवासँग कुराकानी गरेपछि वरिष्ठ नेता पौडेल समूहले आज आफू निकट नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस नेता सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका छ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ ।

कांग्रेसका केही जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन सुरु गरेका छन् ।

कांग्रेसले बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वनजनिक गर्नाका साथै अरू जिल्लाको पनि एक-दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।

बैठकमा एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने, क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको उनले बताए ।

शीर्ष नेताहरू आजै केन्द्रीय कार्यालय जाने र जिल्ला सभापतिको अनशन अन्त्य गर्ने सम्बन्धमा छलफल भए पनि आज शीर्ष नेताहरु नआएकाले सम्भवतः आइतबार अनशन अन्त्य हुने नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ-नगर वडा अधिवेशन यही भदौ १८, गाउँ-नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू