बेलायतमा फेरी बढ्यो कोरोना संक्रमण
एकैदिन ३८ हजार संक्रमित
लण्डन । बेलायतमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । बेलायतका चारवटै राज्यमा संक्रमण दर बढेको राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो अध्ययनले देखाएको हो । हुन त बेलायतमा पछिल्ला दिनहरुमा दैनिक संक्रमण दर २५ हजारको हाराहारीमा रहँदै आएको छ । यूकेमा ८० जनामा गरिएको कोरोना परीक्षणमा एकजना संक्रमित हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
नर्दर्न आयरल्याण्डमा ४० जनामध्ये एक जनामा, इंग्ल्याण्डमा ७० जनामध्ये एक जनामा, वेल्समा १२० जनामध्ये एक र स्कटल्याण्डमा १४० मध्ये एक जनामा कोरोना पोजिटिभ देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
बेलायतमा पछिल्लो २४ घन्टामा ३८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ६६ लाख ६६ हजार ३९९ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १०० जनाको मृत्यु भएको छ । अघिल्लो दिन १४० संक्रमितको मृत्यु भएको थियो । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३२ हजार २४३ पुगेको छ ।
यसैगरी बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड २ लाख ९५ हजार भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७९ लाख १५ हजार ७६८ जनाले खोपको पहिलो डोज र चार करोड २३ लाख ७९ हजार ३५३ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।