अनसन बसेका पूर्व गोर्खाको स्वास्थ्य गम्भीर बनेपछि अस्पतालमा
लन्डन ।आमरण अनसनमा बसेका गोर्खा सत्याग्रह संघर्ष समितिका एक अगुवाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिएको छ ।
बेलायती प्रधानमन्त्री कार्यालय बाहिर ११ दिनदेखि अनसनरत धन गुरुङलाई मंगलबार साँझ उपचारको लागि अस्पताल लगिएको हो ।
गुरुङको स्वास्थ्यमा गम्भीर समस्या भएपछि एम्बुलेन्स बोलाएर उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पताल पठाइएको गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ता लक्ष्मी घिसिङले नेपाली लिंकलाई बताए ।
मधुमेह र ब्लड प्रेसरका रोगी रहेका गुरुङ दुई दिनदेखि पखाला लागेपछि थप गलेका थिए । गुरुङले स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत अस्पताल जान इन्कार गरिरहेपनि आफूहरुले जबरजस्ती पठाएको घिसिङले बताए ।
गुरुङलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने वा सामान्य चेकजांच र उपचार गरी फर्काइने भन्ने अझै निश्चित नरहेको सत्याग्रह समितिले जनाएको छ ।
भूपू गोर्खालाई समान अधिकारको माग गर्दै गोर्खा सत्याग्रह समितिका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्प घले बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर अगस्ट ७ तारिखदेखि आमरण अनसनमा छन् ।
तस्विर-भोजराजको फेसबुकबाट