शुक्रबार, मंसिर १४, २०८१
10:42 | १६:२७

अफगानिस्तानका आधा प्रान्त तालिबान लडाकूको नियन्त्रणमा

रासस-एएनआई अगस्ट १४, २०२१

तस्बिर सिन्ह्वा

काबुल, ३० साउन- अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ । 

तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन् । 

पछिल्लो पटक तालिबान लडाकूको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन् । 

ती बाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन् । अन्य सवै भाग तालिबान लडाकूको नियन्त्रणमा छन् ।

लडाकूले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन् । 

पछिल्लो समय अफगानिस्तानमा सङ्घर्षरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन् । उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन् । 

एकपछि अर्को सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ । कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले समेत महत्वपूर्ण क्षेत्र हो । 

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । 

उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घलगायतका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियान प्रति चासो र चिन्ता व्यक्त गरेका छन् । 

अफगानिस्तानका राहतकर्मीले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ । 

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसङ्घका मानवीय सहयोगमामिला अधिकारीले बिहीबार बताएका हुन् ।

अमेरिकी सैन्य टोली आयो अफगानिस्तान

तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । 

केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । 

उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् ।  

अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकूले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन । राजधानी कब्जा गर्ने अभियानमा उनीहरु निकै सफल देखिएका छन् ।  

विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकूले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू