बिहीबार, माघ ३, २०८१
23:43 | ०५:२८

भोक हड्ताल बसेका गोर्खाहरुको स्वास्थ्य जटिल बन्दै, परीक्षणमा नेपाली नर्सहरु

नेपाली लिङ्क अगस्ट १२, २०२१

लन्डन । सेन्ट्रल लन्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा बसेका गोर्खा अभियन्ताहरुको स्वास्थ्य दिनप्रतिदिन जटिल बन्दै गएको छ । बिहीबार भोक हड्तालको छैटौं दिन पुग्दा अनसनकारीहरु शिथिल र कमजोर देखिएका छन् ।

भोक हड्ताल आव्हान गर्ने सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आमरण अनसनमा रहेका ज्ञानराज राई, पुष्प घले राणा र धन गुरुङको स्वास्थ्यवस्था नाजुक बन्दै गएको बताए । ‘उहांहरु राम्रोसंग बोल्न, शौचालय जान पनि नसक्ने हुनुभएको छ । निकै कमजोर देखिनुहुन्छ’, राईले भने ।

समान पेन्सन लगायत माग राखेर आन्दोलनरत भूतपूर्व गोर्खाहरु बेलायत सरकारले वेवास्ता गरेपछि भोक हड्ताल जस्तो कठोर र अप्रिय आन्दोलन रोज्न वाध्य भएका हुन् ।

अनसनकारीहरुको स्वास्थ्य जांच्दै नेपाली नर्सहरु

बेलायतस्थित नेपाली नर्सहरुले अनसनकारीको स्वास्थ्य दिनहुं परीक्षण गर्न शुरु गरेका छन् । नेपलिज नर्सिङ एसोसिएसन यूकेका पदाधिकारीले अनसनस्थल पुगेर उनीहरुको स्वास्थ्य परीक्षण गराइरहेका एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले जनाइन् ।

नर्सहरुले ब्लड प्रेसर, ब्लड सुगर र कोभिड परीक्षण गर्ने गरेका छन् ।

अनसन शुरु भएयता एसोसिएसनका तर्फबाट सुनिता थापा, रस्मिता बास्तोला र प्रसुना कंडेल एवं निम ट्री फार्मेसीकी सविना श्रेष्ठ अनसनस्थल पुगिसकेका छन् ।

आमरण अनसन जारी रहुन्जेल स्वास्थ्य परीक्षण नियमित गरिने एसोसिएसनकी पूर्व अध्यक्ष प्रसुना कंडेलले जनाइन् । ‘नेपाली दाजु दिदीहरु समान हक अधिकारका लागि अनसनमा हुनुहुन्छ । एउटा मानवताको नाताले पनि हामीले यो काम गर्ने सोच्यौं’, कंडेलले भनिन् ।

८ वर्ष अघि ज्ञानराज राई आमरण अनसन बस्दा पनि नर्सहरुले दिनहुं परीक्षण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू