बिहीबार, माघ ३, २०८१
20:54 | ०२:३९

एनआरएनए यूके निर्वाचनमा हजार बढी भोट गैर कानूनी खसेको भन्दै बदर गर्न माग

नेपाली लिङ्क अगस्ट ५, २०२१


लन्डन–एनआरएनए यूके निर्वाचनमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको जिकिर गर्दै अध्यक्षका प्रत्यासीहरु रोजिनाप्रधान राई र दीपक श्रेष्ठले त्यसलाई बदर गर्न माग गरेका छन्।

ब्रिटिश भोटिङ कम्पनीले नै गलत भनी प्रश्न उठाएको उक्त विषयमा आवश्यक छानवीन गर्न र अवैध ती १ हजार मत खारेज गरी अन्य वैध मतहरुको आधारमा मात्रै नतिजा प्रकाशन गर्न पनि उनीहरुको  जोडदार माग छ ।

बुधबार राती एक पत्रकार सम्मेलन गर्दै रोजिना राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको र ती मतदाताहरुको फोटो परिचयपत्र समेत प्रमाणीकरणका लागि माग गरेको जानकारीमा आएको बताइन् । 

फर्जी मतकै आधारमा निर्वाचन परिणाम घोषणा गरिए कानूनी उपचार खोज्ने चेतावनी दिंदै उनले भनेकी छन् ‘म चुनाव जितिनेमा विश्वस्त छु । तर गैर कानूनी मत बदर हुनुपर्छ भन्ने मेरो अडान हो ।’

यसअघि निर्वाचन समिति र च्वाइस भोटिङले निर्वाचन परिणामको पहिलो ड्राफ्ट बुधवार सांझसम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने भनेपनि निर्वाचन परिणाम उल्टाउने, प्रकृया समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको उनले आफ्नो विज्ञप्तिमा भनेकी छन् ।

बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासंग जोडिएको यती संवेदनशील विषयमा भएको ढिला सुस्तीले संघको छवीमा समेत प्रत्यक्ष असर पार्ने निश्चित रहेको जनाउंदै अध्यक्ष प्रत्यासी राईले संघको छवी कुनै पनि हालतमा धमिल्याउन दिन नहुनेमा जोड दिएकी छन् । 

पत्रकार सम्मेलनमा रोजिनाको तर्फबाट आइटी विज्ञ इन्जिनियर संयुक्त श्रेष्ठले अनलाइन चुनाव गराएको भेन्डर च्वाइस भोटिङले समेत फर्जी भएको भनेर निर्वाचन समितिसंग सुझाव मागेको अवस्थामा बेलायतका समस्त नेपालीको भावनामा चोट पुग्ने खालको कदम नचाल्न निर्वाचन समितिलाई चेतावनी दिए । 

उता, अध्यक्षका अर्का प्रत्यासी दीपक श्रेष्ठले बुधबार राती एक विज्ञप्ति जारी गर्दै ब्रिटिश कम्पनी च्वाइस भोटिङले एउटै इमेल आइडी प्रयोग गरी करिब हजारको संख्यामा मतदान गरिएको विषयमा चासो र आशंका व्यक्त गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

‘यस सन्दर्भमा मैले निर्वाचन समितिलाई पटकपटक निर्वाचन अगावै ध्यानाकर्षण गराएको पनि स्मरण गराउन चाहन्छु’ उनले भनेका छन् ‘एउटै इमेल आइडी प्रयोग गरी हजारौंको संख्यामा मतदान हुनुले निर्वाचनको मर्यादा, नैतिकता र वैधानिकतामा गम्भीर प्रश्न उठाएको मेरो ठहर छ । यसरी अवैध तरिकाले गरिएको मतदानको आधारमा आउने नतिजाले आम मतदाताको अभिमतको प्रातिनिधित्व गर्न नसक्ने र वैधानिक रुपमा समेत मान्य नहुनेमा कुनै दुई मत छैन ।’

ब्रिटिश भोटिङ कम्पनीले नै गलत भनी प्रश्न उठाएको उक्त विषयमा आवश्यक छानवीन गर्न र यदि अवैध तरिकाले मतदान गरिएको पाइएमा ती १ हजार मत खारेज गरी अन्य वैध मतहरुको आधारमा मात्रै नतिजा प्रकाशन गर्न पनि श्रेष्ठले जोडदार माग गरेका छन् । 

अवैध मतहरु खारेज नभएको अवस्थामा प्रकाशित नतिजा मान्य नहुने र त्यसविरुद्ध कानूनी उपचार समेत खोज्न वाध्य हुने भन्दै उनले त्यसतर्फ सचेत रहेर समयमै उपयुक्त निर्णय लिन  निर्वाचन समितिलाई आग्रह गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू