अमेरिकाका नेपालीले राष्ट्रिय आविष्कार केन्द्रलाई गरे ४५ लाख सहयोग
पेन्सिलभेनिया-राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ अमेरिकाको पेन्सिलभेनियामा संयुक्त रुपमा दुईवटा कार्यक्रम गरिएको छ । स्थानीय सामाजिक संघ–संस्था लगायत यहाँ वसोवास गर्दै आएका नेपालीको सक्रियतामा आयोजित दुई कार्यक्रममा करिव ३८ हजार डलर (करिव ४५ लाख रुपिँया) संकलन भएको छ ।
ब्रुक मेडो फर्म ह्यारिसवर्गमा आयोजित कार्यक्रममा २२ हजार पाँच सय १० डलर तथा एक्सटनमा आयोजित कार्यक्रममा १५ हजार सात सय ६८ संकलन भएको हो ।
वुद्धिराज कालाखेती र डा. केशव भण्डारीले संयोजन गरेको एक्सटनमा आयोजित कार्यक्रममा पेन्सिलभेनिया नेप्लिज गुठी एशाोसिएसन र डेलाभर भ्याली नेपाली पाठशाला लगायतका स्थानीय संघ संस्थाले सहयोग गरेको थिए ।
एशोसिएसनका तर्फबाट सात हजार चार सय ३८ तथा पाठशालाको तर्फवाट एक हजार पाँच सय ५० समेत गरि कार्यक्रममा जम्मा १५ हजार सात सय ६८ डलर संकलन भएको थियो ।
आविष्कार केन्द्रका संथापक डा. महाविर पुनले केन्द्रको अभियानमा सघाउन तयार सम्पूर्ण दातालाई धन्यवाद दिए ।
डा सुनिल नेपालले पुनको परिचय, परोपकारी काममा सक्रियता, आविष्कार केन्द्रको योगदान लगायत विषमा प्रकाश पारेका थिए भने डा वर्षा मोक्तान रायमाझीले स्वागत मन्तव्य दिएकी थिइन् ।
सहयोगी संघ–संस्था तथा सहभागीलाई धन्यवाद ज्ञापन गर्ने क्रममा कार्यक्रम संयोजक कालाखेतीले हरेक नेपालीले डा. पुनकै जस्तो राष्ट्र हित तथा सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिंदै प्रवासी नेपालीहरुको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
ह्यारिसवर्गमा आयोजित कार्यक्रममा डा पुनले नेपालमा कोभिड जोखिम नियन्त्रणमा आविष्कार केन्द्रले गरेका सहयोगी गतिविधि, निर्वाह गरेको भूमिका र केन्द्रका भावी कार्ययोजना लगायतका विषयमा उपस्थितमाझ जानकारी गराएका थिए । ‘पैसा संकलन भन्दा ठोस तथा उचित कार्ययोजना निर्माणमा चुनौति छ’, उनले ठट्यौली शैलीमा भने, ‘त्यसका लागि काम गर्नुछ ।’
कार्यक्रम सञ्चालक समेत रहेका भेषराज खत्री संयोजक रहेको सो कार्यत्रममा यदु वन्जाराले सहभागी तथा डा पुनको अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका लागि निशुल्क हल समेत उपलव्ध गराउने ब्रुक मेडो फर्मले आविष्कार केन्द्रलाई सबैभन्दा वढी पाँच हजार एक डलर तथा एनआरएन पेन्सिलभेनिया च्याप्टर टीमले तीन हजार डलर सहयोग गरेको थियो ।
राज्यका दुवै स्थानमा आयोजना गरिएका कार्यक्रममा नेपालीको उल्लेख्य उपस्थिति थियो भने सहभागीहरुले सादगी डा पुनको अभियानमा भविष्यमा पनि यस्तै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
आविष्कार केन्द्रको सहयोगार्थ यहाँस्थित विभिन्न राज्यका नेपालीहरुको अनुरोधमा आयोजना गरिएका विभिन्न कार्यक्रममा डा पुन सहभागी हुँदै आएका छन् । उनी आफूँ अध्ययन गरेको यूनिभर्सिटी अफ नेव्रास्काका पूर्व प्राध्यापक तथा डा पुनद्धारा स्थापित हिमाञ्चल फाउण्डेशनका सहयोगी डा. स्कोभको निधनपछि आयोजना गरिएको अन्तिम श्रद्धाञ्जली सभामा सहभागी हुन गत मे २३ मा अमेरिका आएका हुन् ।
संकलित रकम सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस नामक संथामार्फत केन्द्रलाई हस्तान्तरण गरिने छ । दुवै कार्यक्रमका संयोजकले संकलित रकम सोही संस्थाको वैंक खातामा जम्मा गरिसकिएको जानकारी दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५