सोमबार, माघ ७, २०८१
21:49 | ०३:३४

अमेरिकाद्वारा थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्ध

रासस-एएनआई जुलाइ १०, २०२१

वासिङटन । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ ।

सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लंघनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वर्ल्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषित समाचारमा उल्लेख छ । 

धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रविधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् । एनएचके वर्ल्डको  रिपोर्टअनुसार प्रतिवन्धित यी कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायविरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ ।  

रिपोर्टअनुसार अमेरिकी वाणिज्य मन्त्री जीना राइमन्डोले अमेरिकी मन्त्रालय सिनच्याङमा मानव अधिकार उल्लङघन गर्ने संस्थालाई लक्षित गर्न कडा र निर्णायक कदम चाल्न प्रतिवद्ध रहेको बताएकी छन् ।

बाइडेन प्रशासनले ‘बेइजिङको मानव अधिकार उल्लङ्घन’ बिरूद्ध कडा कदम चालेको एनएचकेले बताएको छ ।  दुई महिना अगाडि अमेरिकाले पाँच चिनियाँ सौर्य प्यानल कम्पनीहरूलाई सिनच्याङ– उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिवन्धित सूचीमा जोडेको थियो ।

चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताएको पनि एनएचकेले उल्लेख गरेको छ । 

चीनले युगुर मुसलमानहरूलाई असमान व्यवहार नगरेको दावी गर्दै आएको छ । यद्यपि अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले युगुर मुसलमान समुदायलाई शिविरमा सामूहिक हिरासतमा राखेर उनीहरूको धार्मिक गतिविधिमा हस्तक्षेप गरेको र समुदायका सदस्यहरूलाई दुःख दिएको बताउने गरेका छन् । 

अर्कोतर्फ सीसीपीले सिन्च्यिाङमा उइगुरहरूविरुद्ध मानवअधिकार हननका घटना नभएको कुरामा जोड दिँदै कडा शब्दमा अमेरिकी निर्णयको विरोध गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू