क्रिकेटर सन्दीप लामिछाने बेलायत उडे
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि लामिछाने एक लाख पाउण्डमा अनुबन्धित
लन्डन । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायतका लागि प्रस्थान गरेका छन् । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न उनी नेपाली समयानुसार राति टर्कीस एयरबाट प्रस्थान गरेका हुन् ।
बेलायत आइपुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले प्रतियोगितामा खेल्न पाउनेछन् ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ ।
सो प्रतियोगिता बेलायत र वेल्स् क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् ।
द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।