शुक्रबार, मंसिर १४, २०८१
09:22 | १५:०७

जर्मनीमा नेपाल, यूकेसहित ५ देशका पर्यटकलाई प्रतिबन्ध हटाइने

रासस- एएफपी जुलाइ ६, २०२१

बर्लिन– जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगीज, रूसी, भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ ।

दुबै खोप लगाइसकेका र कोभिड–१९ संक्रमण नरहेका पर्यटकले जर्मनी पुगेपछि क्वारेन्टिनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने छ ।

खोप नलगाएका व्यक्तिले पनि क्वारेन्टिनमा बसेको पाँचौँ दिनमा परीक्षण गर्दा कोभिड–१९ संक्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिँड्डुल गर्न दिइने पनि जर्मनीको प्रशासनले बताएको छ ।

बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म कोभिडको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भाइरसको प्रकार फैलिएका कारण कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुकका रूपमा वर्गीकरण गरिएको थियो । सुरुमा भारतमा पहिचान भएको कोभिडको ‘डेल्टा’ प्रजातीलाई विश्व स्वास्थ्य संगठनले अति जोखिमयुक्त प्रजातीका रूपमा वर्गीकरण गरेको छ ।

महामारी नियन्त्रणका लागि ती मुलुकका नागरिकका लागि यात्रा प्रतिबन्ध लगाइएको भएपनि जर्मनीका नागरिक वा स्थायी बासिन्दाहरूमाथि प्रतिबन्ध लागु गरिएको थिएन तर उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था भने गरिएको थियो ।

यी पाँच राष्ट्रहरूलाई अब संक्रमितको संख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू