एनआरएनए यूके निर्वाचनमा मिडल्यान्डका उम्मेदवारहरुले प्रेम गाहासँग सहकार्य गर्ने
लन्डन । एनआरएनए यूकेको जुलाई ३१ तारिखमा हुने निर्वाचनमा मिडल्याण्ड क्षेत्रका विभिन्न पदका प्रत्यासीहरूले अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरको टीमसँग सहकार्य गर्ने भएका छन् ।
एनआरएन यूके निर्वाचनलाई केन्द्रित गरी गठन गरिएको मिडल्याण्ड प्रतिनिधि मण्डलको बुधबार सम्पन्न जुमबाट बैठकले गाहामगरको टीममा जाने निर्णय गरेको प्रतिनिधि मण्डलका संयोजक एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।
यही जुन २३ तारिख साझा नेपाली समाजको पहलमा एनआरएनए मिडल्याण्ड क्षेत्रका अभियन्ता, विभिन्न समाजका प्रतिनिधि, साझाका पूर्व अध्यक्षहरू एवं पदाधिकारी र प्रत्यासी उम्मेदवारीहरूको भेलाले साझा नेपाली समाजका वर्तमान अध्यक्ष कृष्ण शर्माको संयोजकत्वमा एनआरएनए यूकेको आगामी अधिवेशन र निर्वाचनका लागि आवश्यक निर्णय लिन एक अधिकार सम्पन्न प्रतिनिधि मण्डल गठन गरेको थियो ।
एनआरएनए यूके मिडल्याण्ड प्रतिनिधि मण्डलमा एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, आईसीसी मानार्थ सदस्य रण बहादुर केसी, एनआरएनए यूके सचिव कोशलेश्वर ढकाल, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद सचिव गोविन्द शर्मा खरेल, एनआरएनए यूके पूर्व सदस्य पवन शर्मा सदस्य रहेको बताइएको छ ।
एनआरएनए यूकेको २०२१- २०२३ कार्यसमितिका लागि वर्तमान उपाध्यक्षद्वय प्रेम गाहा मगर र रोजिना प्रधान राईसंगै इङल्यान्ड राज्यपरिषदका अध्यक्ष दिपक श्रेष्ठ प्रत्यासी छन् ।
यही जुलाई ३१ तारिख हुने निर्वाचनका लागि पूर्व अध्यक्ष महेन्द्र कंडेललाई निर्वाचन समिति संयोजक तोकिए पनि समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।