ग्लोबल गोरखा समाजले पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण
गोरखा । प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्लाभित्रका स्थानीय निकायस्थित स्वास्थ्य केन्द्रहरुमा पुरयाउने उद्धेश्यका साथ ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ ।
ति उपकरणको नेपाली बजार मुल्य करिब रु ७० लाख छ ।
समाजले मातृभूमि नेपालमा दोस्रो चरणको कोभिड–१९ समुदाय स्तरमा फैलदै गएपछि देखिएको अक्सिजन अभावलाई मध्यनजर गर्दै र भावी दिनमा समेत जिल्ला भित्र रहेका स्वास्थ्य केन्द्रहरुबाट सहज रुपमा अक्सिजन सुविधा उपलब्ध गराउन उपकरण सहयोग गरिएको बताएको छ ।
समाजले गोरखा नगरपालिकालाई ४ थान, धार्चे गाउँपालिकालाई २ थान चुमनुर्बी गाउँपालिकालाई २ थान, शहिद लखन गाउँपालिकालाई ४ थान र नेपाल आर्मी गोरखालाई १ थान हस्तान्तरण गरेको थियो भने सोही दिन समाजका प्रतिनिधिहरुले पालुङटार नगरपालिकालाई ४ थान, सिरान्चोक गाउंपालिकालाई ४ थान, बारपाक सुलिकोट गाउंपालिकालाई ४ थान पालुङगटार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको थियो ।
कोरोना प्रभाव देखिएलगत्तै समाजले गोरखा समाज जापानसंगको सहकार्यमा पहिलो चरणमा रु. ८ लाख बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री जिल्लाका स्थानीय निकायका स्वास्थ्य केन्द्रमा पठाएको थियो ।
विनय अधिकारीको नेतृत्वमा रहेको समाजले प्रवासमा बस्ने गोरखालीहरुको सहयोगमा आजसम्मकै सबैभन्दा ठूलो सहयोग गृहजिल्लामा पठाउन सफल भएको हो ।
समाजको स्वास्थ्य विभागअन्तर्गत रहेको कार्यक्रममा ४ छुट्टा छुट्टै उपसमिति गठन गरेर कार्य विभाजन गर्दै अभियान संचालन गरेको समाजले बताएको छ ।
अध्यक्ष विनय अधिकारीको संयोजकत्वमा पब्लिक रिलेशन उपसमिति उपाध्यक्ष तथा स्वास्थ्य विभाग संयोजक गोकर्ण प्रसाद ढकालको संयोजकत्वमा खरिद उपसमिति, कोषाध्यक्ष आकाश बन्जाराको संयोजकत्वमा फण्ड रेजिङ उपसमिति, नेपाल संयोजक विनोद पोखरेलको संयोजकत्वमा नेपाल संयोजन उपसमिति गठन भएको थियो।
अन्य उपसमितिका सदस्यहरुमा उपाध्यक्ष नारायण भट्ट (अमेरिका), उपाध्यक्ष यदु लामिछाने (दक्षिण कोरिया), उपाध्यक्ष विनिता रेग्मी खनाल (युरोप) कृष्ण भट्टराई, (कतार), महासचिव त्रिलोचन पोखरेल (अष्ट्रेलिया), सचिवद्वय शकुन्तला गुरुङ (बेलायत) र विराट खनाल (जापान), सहकोषाध्यक्ष बम गुरुङ, (बेलायत), केन्द्रीय सदस्य प्रकाश बस्ताकोटी (अष्ट्रेलिया), रामजी खत्री (कतार), कमला लम्साल काप्री (जापान) थिए भने क्यानडा संयोजकमा उपाध्यक्ष रश्मी थापालाई जिम्मेवारी तोकिएको थियो ।
समाजले असार ८ गते मंगलबार जिल्ला समन्वय समिति गोरखाको प्रांगणमा निवर्तमान राष्ट्रियसभा सदस्य, नेका नेता तथा केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा उपकरण हस्तान्तरण गरेको हो । सो अवसरमा जिल्ला भित्रका सम्पूर्ण राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति गोरखाका सभापति, गोरखा नगरपालिका प्रमुख, पत्रकार महासंघ गोरखा शाखाका अध्यक्षको विशेष आतिथ्य थियो ।
त्यसैगरी कार्यक्रममा शहिद लखन गाउंपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, जिल्लाभित्रका पत्रकार, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत प्रमुखहरुको उपस्थिति थियो।
समाजका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सञ्चालन समाजका नेपाल संयोजक विनोद पोखरेलले गरेका थिए भने वक्ताहरु नेपाल समन्वय समितिका सदस्यद्वय मोहन भट्टराई, पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटा, नेकाका नेता सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी गौतम शर्मा पौडेल, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, नेका गोरखाका सचिव युवा नेता नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका नेता कमल दानी, जसपाका जिल्ला सचिव विपिनचन्द्र ढकाल लगायतले आफ्ना विचार राखेका थिए ।
समाजले समुदायमा विगत देखि नै विभिन्न काममा समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै प्रमुख अतिथि सुरेन्द्रराज पाण्डे, विशेष अतिथिद्वय जिल्ला समन्वय समिति सभापति अशोक कुमार गुरुङ र पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटालाई प्रशंसापत्र प्रदान गरेको थियो ।
समाजले मिति असार ९ गते बुधबार भिमसेन थापा गाउंपालिकाको कार्यालयमा उपस्थित भएर ४ थान अक्सिजन कन्सनट्रेटर गाउंपालिका अध्यक्ष इश्वर पाण्डेलाई हस्तान्तरण गरेको छ भने आरुघाट गाउंपालिकाका लागि छुट्याइएको उपकरण गाउंपालिका प्रमुख पूर्ण दाहाल कोरोना संक्रमण भएर आइसोलेसनमा रहेको जानकारी भएपश्चात जिल्ला समन्वय समिति गोरखालाई जिम्मा लगाइएको समाजका नेपाल संयोजक विनोद पोखरेलले जानकारी दिए ।
समाजले २०७८-३-१२ गते शनिबार साबिकको फुजेल गाविस गण्डकी गाउंपालिका वडा नम्बर ३ मा एक कार्यक्रमबीच समाजका अग्रज व्यक्तित्व धर्मप्रसाद तिवारीको उपस्थितिमा ५ थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको थियो ।
गण्डकी गाउंपालिकामा भएको हस्तान्तरण कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष नवराज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।