बुधबार, माघ २, २०८१
10:00 | १५:४५

बेलायतमा डेल्टा भेरिएन्टको संक्रमण तीव्र, तेस्रो लहरको संकेत

७ करोड ६७ लाख बढी खोप वितरण

नेपाली लिङ्क जुन २७, २०२१

लन्डन–बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १८ हजार भन्दा बढी संक्रमित थपिएका थिए जुन संख्या गत वर्ष फेब्रुअरीयताकै उच्च हो ।

यसैगरी आज आइतबार सार्वजनिक तथ्यांक अनुसार थप १४ हजार ८७६ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा केहि कम भएपनि सामन्यतया वीकेन्डको तथ्यांक वास्तविक भन्दा फरक हुने गर्दछ । पछिल्लो एक सातामा डेल्टा भेरियन्टका कारण संक्रमण दर ४४ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । बेलायतमा हालसम्म कुल संक्रमितको संख्या ४७ लाख ३२ हजार ४३४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । अघिल्लो दिन २३ जनाको निधन भएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ ।  हालसम्म मृत्यु हुनेको संख्या एक लाख २८ हजार एक सय पुगेको छ ।

संक्रमण दर बढ्न थालेपछि इंग्ल्याण्डमा थप चिन्ता बढेको छ । गत जुन २१ मा लकडाउन पूर्ण रुपमा खोल्ने सरकारको रोडम्याप संक्रमण बढेकै कारण जुलाई १९ सम्मका लागि सारिएको थियो । तर, सरकारले सो मिति भन्दा अगावै लकडाउन खुला गर्ने धारणा सार्वजनिक गर्दै आएको छ ।

यसबारेमा थप जानकारी भोलि सोमबार सार्वजनिक गरिने बताइएको छ । तर, वैज्ञानिकहरुले भने लकडाउन खुलाउन हतार नगर्न सरकारलाई चेतावनी दिएको छ ।

बेलायतमा ७ करोड ६७ लाख भन्दा बढी खोप वितरण

बेलायतमा ७ करोड ६७ लाख भन्दा बढी डोज खोप वितरण भएको छ । जुन २७ सम्मको तथ्यांक अनुसार यहाँ ६१ दशमलव ६ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८४ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ६७ लाख ७४ हजार ९९० डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ४३ लाख १४ हजार ७९९ जनाले पहिलो र तीन करोड २४ लाख ६० हजार १९१ जनाले दोस्रो डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू