हन्स्लो मेयर गुरुङको उपस्थितिमा ऐतिहासिक ब्यारेक र आइरिस गार्डको बिदाइ
लन्डन । करिब दुई सय वर्ष भन्दा बढी समयदेखि लण्डनको हन्स्लोमा रहँदै आएको ‘हन्स्लो होम’ ले परिचित ‘क्याभर्ली ब्यारेक’ र आइरिस गार्डलाई सो क्षेत्रबाट सधैंका लागि विदाइ गरिएको छ । उक्त विदाई समारोहमा भर्खरै मात्र निर्वाचित भएका लन्डन बरो अफ हन्स्लोका ५६ औं मेयर विष्णुबहादुर गुरुङलाई निमन्त्रणा गरी मार्च पास परेड तथा सलामी समेत दिइयो ।
आफूले सलामी दिंदै आएको सेनाहरुबाटै पाएको यो सम्मानले आफूलाई गौरव साथै सौभाग्यशाली ठानेको गुरुङले बताए । फस्ट बटालियन आरिस गार्डद्वारा परेड आयोजना सहित बिदाई समारोहसंगै हन्स्लोको एक महत्वपूर्ण इतिहासको अध्याय समाप्त भएको मेयर गुरुङले बताए ।
दुई शताब्दी भन्दा लामो समयसम्म ‘हन्स्लो होम’ का रुपमा रहेको गौरवशाली सैन्य सम्पदाको अन्त भएकोमा मेयर गुरुङले दु:ख व्यक्त गर्दै सम्पूर्ण रेजिमेन्टप्रति कृतज्ञता व्यक्त गरे ।
ब्यारेक बिदाइका साथै फस्ट बटालियन आइरिस गार्डलाई हन्स्लो काउन्सिलको सम्झनास्वरूप मेयर गुरुङले कमाण्डिङ अफिसर कर्णेल रोबर्ट मनिलाई ‘वुडन हन्स्लो क्रेष्ट’ प्लेग हस्तान्तरण गरेका थिए ।
उक्त परेडमा आइरिस गार्डका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल रोबर्ट मनि, सांसद सीमा मलहोत्रा र रुथ क्याडबरी, काउन्सिलर लिली बाथ लगायत काउन्सिल मेम्बर्स, भेट्रान्स, रोयल ब्रिटिश लिजन, क्याडेट्स, गेसोका कार्याबाहक सभापती धर्म तामांग, गोर्खा नेप्लिज कम्युनिटी हन्स्लो र मिडियाको उपस्थिति थियो ।
आर्म फोर्स डे’ को सप्ताह पारेर जुन १९ का दिन ब्यारेकको बिदाइ समारोह गरिएको थियो । सैनिक सेवामा रहेका पुरुष, महिला, हाल ड्युटीमा खटिएका सेना, भेट्रान तथा क्याडेट लगायतको सम्झना स्वरूप हन्स्लो काउन्सिलले उक्त दिनलाई राष्ट्रिय घटनाका रुपमा राख्ने भएको छ ।
कोभिड १९ का कारण भव्य रुपमा कार्यक्रम आयोजना गर्न नसकिएको भन्दै सैन्य सेवाका वर्तमान र भूतपूर्व सेना लगायतलाई देशको सेवा र शानदार कार्यका लागि काउन्सिलले आभार प्रकट गरेको छ ।
सन् २०२० मा ब्यारेक स्थानान्तरण गरिने सूचना रक्षा मन्त्रालयले सन् २०१६ मा नै दिए पनि विभिन्न कारणले गर्दा ब्यारेक स्थानान्तरण गर्ने कार्य सन् २०२१ समरसम्म लम्बिएको थियो । हन्स्लो वेस्टका स्थानीयवासीहरुका लागि २२९ वर्ष लामो सेनाको उपस्थिति अन्त भएको छ । ब्यारेक स्थापना हुनु अघि नै ओलिभर क्रमवेल र राजा जेम्स द्वितीयले त्यहाँ आफ्ना सेनाहरु राखेका थिए ।
ब्यारेक विस्तारको क्रममा सन् १८८४ मा आफ्नै रेलवे स्टेशन निर्माण गरिएको थियो, जुन सन् १८९६ मा वीन्सटन चर्चिलले प्रयोग गरेका थिए । त्यसपछि सन् २०११ मध्यसम्म थप विस्तार गरि ३९६ वटा इन सुइट बेड र ६ वटा नयाँ आवासीय भवन निर्माण गरियो ।
काउन्सिलले सो क्षेत्रलाई संरक्षण गर्ने उद्देश्यले करिब एक हजार ६२९ घर निर्माण गर्ने लक्ष्यसहित अघि बढेको छ । वर्षौं लामो इतिहासमा ब्यारेकका सेनाहरुले हन्स्लोवासी समूदायसंग घनिष्ट सम्बन्ध कायम गरेका थिए । त्यहाँ थुप्रै रेजिमेन्ट थिए भने पछिल्लो समय आइरिस गार्ड रहँदै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५