एनआरएनए र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर
लन्डन – गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । गैरआवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन् ।
समझदारीपत्रमा एनआरएनएले सामाजिक संजालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायष्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ । त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ ।
‘सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी’
‘८२ मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको छ । अमेरिकाजस्तो अत्यन्त कडा प्रतिष्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफुलाई स्थापित गरेर नेपाल, भारत लगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन, संग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं’, गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले भने ।
िवश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रम मार्फत प्रवासी नेपालीहरुसंग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्रयाउन संघले काम गरिरहेको पनि उनले बताए ।
यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘अहिले झन्डै पैसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइ रहनु भएको छ र ६५ राष्ट्रहरुबाट ४,५०० भन्दा बढी लगानीकर्ता हामीसंग जोडिनु भएको छ । हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाउनु भएको माया, सहयोग र साथका लागि हामी सधैं आभारी छौं । साथै गैरआवासीय नेपाली संघसंगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने हाम्रो विश्वास छ’, उनले भने ।
सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय छन् । सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।
सगुन एप एपस्टोर अथवा प्लेस्टोरबाट डाउनलोड गरेर चलाउन सकिन्छ।