एनआरएनए यूकेका सक्रिय अभियन्ता आलेले सचिवमा उम्मेदवारी दिने
लन्डन । एनआरएनए यूकेमा निर्वाचन नजिकिंदै गर्दा विभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेदवारी सार्वजनिक क्रम बढ्दै गएको छ ।
वर्तमान कार्यसमितिका सदस्य ज्ञानेन्द्र आलेले पनि आउँदो कार्यसमितिको सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए यूकेको २०१९ २१ कार्यसमितिभित्र सबैभन्दा बढी सक्रिय अभियन्ताहरुमध्ये एक हुन् आले । संस्थाले गर्ने हरेक कार्यक्रम र अभियानमा सक्रियतापूर्वक खटिने उनले कयौं अभियानको आफैं अगुवाई समेत गरेका छन् ।
भाइबरमा एनआरएनए यूकेको ग्रुप सञ्चालन गरी संस्था र अभियानसम्बन्धि हरेक सूचना, जानकारी र समाचारहरु निरन्तर अपडेट गराउँदै आएका छन् आलेले । कोभिड महामारीका बेला संस्थाले सञ्चालन गरेको सहयोग अभियानका लागि ‘गो फण्ड’ मार्फत् कोष संकलनको पनि उनले सफल नेतृत्व गरेका थिए ।
‘पहिलोपटक कार्यसमितिमा रहेर काम गर्दा धेरै कुरा देख्ने र सिक्ने अवसर पाएं । अब अझै बढि योगदान गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ’, आले भन्छन्, ‘बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछु ।’
सचिव पदका उम्मेदवार आलेले नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पतिको सुनिश्चितता, पूर्व गोर्खाहरुको हकअधिकार स्थापना, नेपालमा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन्, संस्थामा समावेशी सहभागिता, बेलायतमा नेपाली भाषा, संस्कृतिको प्रवर्द्धन् लगायतका एजेण्डा अघि सारेका छन् ।
एनआरएनएको ग्लोबल प्लेटफर्मलाई सदुपयोग गर्दै आफ्ना एजेण्डाहरुमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता उनले गरेका छन् ।