भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ को मृत्यु
पुने–पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ ।
कारखानाबाट सोमबार अपरान्ह धुवाँको मुस्लो निस्किएपछि स्थानीयको सहयोगमा अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर निकालेका थिए । आगलागीका कारण स्पष्ट हुन सकेको छैन् ।
पुनेको औद्योगिक क्षेत्रमा रहेको ‘एसभी एक्वा टेक्नोलजीज’ नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले घाइतेलाई केही राहत उपलब्ध गराइने पनि बताउएको छ ।
महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।